काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले निषेधाज्ञा अवधिको विद्युत महशुलमा छुट तथा थप दस्तुर समायोजन गर्ने निर्णय गरेको छ । यस्तो निर्णय भदौ २९ गतेको कार्यकारी निर्देशकस्तरीय निर्णयबमोजिभ भएको हो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण प्राय सबै जिल्लामा निषेधाज्ञा तथा कर्फ्यू जारी गरिएको थियो । जसका कारण निर्वाध रूपमा प्राधिकरणको महशुल काउन्टरहरू खोल्न सक्ने अवस्था थिएन । सोही समस्यालाई मध्यनजर गर्दै प्राधिकरणले भदौ २४ गतेदेखि असोज २ गतेसम्म (१० दिन) उपभोक्ताले पाउनु पर्ने रिबेट/पेनाल्टीको सुविधाको लागिःएम–पावर बिलिङ सिस्टममा होलिडे सेटअप गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।
यस अवधिमा महशुल तिर्ने उपभोक्ताहरूलाई कुनै जरिवाना लाग्ने छैन । उक्त अवधिमा काउण्टरबाट महशुल भुक्तानी गर्ने उपभोक्ताले बुझाएको रकममा समेत समायोजन गरिने प्राधिकरणले जनाएको छ ।
देशभरका सम्बन्धित कार्यालय तथा शाखाहरुलाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन समेत प्राधिकरणले दिएको छ ।