काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ लगायतका तीन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरेका छन् ।
घिसिङले काठमाण्डौको स्युचाटारस्थित केन्द्रको स्थलगत निरीक्षण गर्दै छिनछिनमा बत्ती जाने समस्याको समाधान गर्न निर्देशन दिएका छन् । उनले देशका विभिन्न ठाउँबाट छिनछिनमा बत्ती जाने गुनासो बढ्दै गएको बताउँदै विद्युत् प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीतिगत तथा प्रविधिक सुधार आवश्यक रहेको बताए।
उक्त अवसरमा उनले देशभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात र बाढी–पहिरोबाट क्षति भएका आयोजनाहरूका बारेमा जानकारी समेत लिएका थिए ।
यस्तै उनले बाढी र पहिरोले क्षति पुर्याएका संरचनाको तत्काल मर्मत गरी सेवा सञ्चालनमा ल्याउन निर्देशन दिए।