काठमाण्डौ । पछिल्लो समय मुलुकका विभिन्न स्थानमा देखिएको सामाजिक तथा धार्मिक तनावका बीच गृह मन्त्रालयले सरोकारवाला पक्षसँग संवाद सुरु गरेको छ। यही क्रममा गृह मन्त्रालयमा मुस्लिम आयोग र हिन्दु संघसंस्थाका पदाधिकारीबीच छलफल भइरहेको छ।
गृहसचिव राजकुमार श्रेष्ठको उपस्थितिमा भइरहेको बैठकमा सामाजिक सद्भाव कायम राख्ने, धार्मिक सहिष्णुता प्रवर्द्धन गर्ने तथा पछिल्लो परिस्थितिलाई संवादमार्फत समाधान गर्ने विषयमा केन्द्रित छलफल भइरहेको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता रमा आचार्यका अनुसार बैठकमा समुदायबीच आपसी विश्वास अभिवृद्धि, शान्ति–सुरक्षा सुदृढ बनाउने तथा सम्भावित तनाव न्यूनीकरणका उपायबारे विचारविमर्श भइरहेको छ।
पछिल्ला घटनाक्रमपछि विभिन्न पक्षबाट संयमता अपनाउन र संवादमार्फत समस्याको समाधान खोज्न आग्रह भइरहेका बेला गृह मन्त्रालयले सरोकारवाला समुदायका प्रतिनिधिसँग प्रत्यक्ष छलफल अघि बढाएको हो।

