काठमाण्डौ । नेकपा (एमाले( का अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा उत्पन्न तनावपूर्ण अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले राज्य पक्षबाट भएको बल प्रयोग तथा त्यस क्रममा स्थानीय युवा ओमप्रकाश मेहता र सिरहाका गणेश यादवको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत विज्ञप्ति सार्वजनिक गर्दै घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
उनले पछिल्लो घटनाक्रमले हिंसात्मक अवस्था थप उग्र बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। नागरिकबीचको एकता र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा आम नागरिकलाई संयमता अपनाउन उनले आग्रह गरेका छन्।
ओलीले भ्रामक प्रचारबाट सचेत रहन र कुनै पनि प्रकारको विभाजनकारी गतिविधिमा नलाग्न अपिल गरेका छन्। उनले नागरिकको जीउधनको सुरक्षा गर्नु र संवादका माध्यमबाट समस्याको समाधान खोज्नु सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै सरकारको भूमिका प्रभावकारी हुन नसकेको आरोप लगाएका छन्।
उनले अत्यधिक बल प्रयोग रोक्न र तत्काल संवादमार्फत समाधान खोज्न सरकारलाई आग्रह गरेका छन्।
मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै एमाले अध्यक्ष ओलीले प्रमुख राजनीतिक दलहरूलाई आपसी आरोप–प्रत्यारोपभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्न आह्वान गरेका छन्।
उनले द्वन्द्व र हिंसाबाट समस्याको समाधान हुन नसक्ने भन्दै संवाद, सहमति र जिम्मेवार सहकार्यबाट मात्रै वर्तमान अवस्थाबाट निकास सम्भव हुने बताएका छन्। राष्ट्रिय एकता, शान्ति र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक एवं सामाजिक क्षेत्रका अगुवाहरूलाई एकजुट हुन समेत उनले आग्रह गरेका छन्।

