काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूलाई आ–आफ्नो जिल्ला र क्षेत्रमा फर्किएर सामाजिक सद्भाव कायम राख्ने अभियानमा सक्रिय हुन निर्देशन दिएका छन्।
बिहीबार सिंहदरबारमा आकस्मिक रूपमा बोलाइएको बैठकमा लामिछानेले सुनसरी घटनापछि विकसित परिस्थितिबारे जानकारी गराउँदै सांसदहरूलाई स्थानीय तहमा समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरेका हुन्।
सभापति लामिछानेले सांसदहरूलाई काठमाण्डौमा बसेर प्रतिक्रिया दिनेभन्दा प्रभावित जिल्ला र समुदायमा पुगेर सद्भावको सन्देश फैलाउन निर्देशन दिएको सांसद रहवर अन्सारीले बताए।
लामिछानेले सामाजिक सद्भाव बिथोल्ने कुनै पनि प्रयासलाई स्थानीय स्तरमै संवाद र समन्वयबाट मत्थर पार्न तथा बाह्य तत्वबाट हुने सम्भावित उक्साहटप्रति सतर्क रहन सांसदहरूलाई आग्रह गरेका छन्।

