काठमाण्डौ । नेपाल प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जेनजी आन्दोलनका घाइते परिवारले दिएको जाहेरी दर्ता गरेको छ । अघिल्लो दिन जेनजी आन्दोलनका अगुवा सुधन गुरुङसहितको टोलीले दिएको जाहेरी लिन नमानेको प्रहरीले आज भने जाहेरी दर्ता गर्न स्वीकार गरेको हो । प्रहरीले सुरक्षा प्रमुखहरूको छलफलपछि जाहेरी लिन मानेको हो ।
काठमाण्डौ जिल्ला प्रहरी परिसर भद्रकालीले लिखित जाहेरी लिएको हो । यससँगै प्रहरीले उक्त जाहेरी जेनजी आन्दोलबारे अध्ययन अनुसन्धान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगलाई पठाएको छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखकलगायत लाई पक्राउ गर्नुपर्ने माग चर्को भएसँगै सोमबार प्रधानमन्त्री सुशीला कार्कीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी थिइन् । सुरक्षा प्रमुखहरूले उक्त छलफलमा तत्कालै जाहेरी दर्ता र पक्राउ गर्न नहुने बताएका थिए ।