काठमाण्डौ । मकवानपुरको हेटौंडामा रहेको शिवम् सिमेन्ट उद्योगले लामो समयदेखि थाती रहेको विद्युत् महसुलको बाँकी रकम तिर्न सुरु गरेको छ। सोमबारदेखि कम्पनीले नेपाल विद्युत् प्राधिकरणलाई पहिलो किस्ताबापत २ करोड ३८ लाख रुपैयाँ बुझाएको हो।
यो रकम २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइनमार्फत उपभोग गरेको विद्युत्को प्रिमियम शुल्कअन्तर्गतको हो। कम्पनीमाथि कुल ६६ करोड ८९ लाख रुपैयाँ बक्यौता थियो, जसलाई २८ किस्तामा विभाजन गरी तिर्ने सहमति भएको छ।
पहिलो किस्ता तिरे लगत्तै प्राधिकरणले गत कात्तिक ४ गते काटिएको उद्योगको विद्युत् लाइन पुनः जोडेको छ। यससँगै शिवम् सिमेन्टको उत्पादन प्रक्रिया पूर्ण क्षमतामा सुचारु हुने अपेक्षा गरिएको छ।
प्राधिकरणका एक अधिकारीले भने, “बक्यौता तिर्ने प्रक्रिया सुरु भएपछि लाइन जडान गरिएको हो। बाँकी किस्ताहरू समयमै तिरिएमा थप सहजीकरण गरिनेछ।”
उद्योग स्रोतका अनुसार, बक्यौताका कारण उत्पादनमा अवरोध पुगेको थियो। अब नियमित विद्युत् आपूर्तिसँगै उत्पादन र आपूर्ति दुवैमा सुधार आउने विश्वास कम्पनीले लिएको छ।

