काठमाण्डौ । विश्वप्रसिद्ध पुस्तक ‘रिच ड्याड पुअर ड्याड’ का लेखक तथा आर्थिक चिन्तक रबर्ट कियोसाकीले इतिहासकै सबैभन्दा ठूलो बजार ध्वस्त (क्र्यास) सुरु भइसकेको चेतावनी दिएका छन्। उनले यो संकट अमेरिकामा मात्र नभई युरोप र एसियासम्म फैलिएको बताएका छन्।
आफ्नो एक्स (ट्विटर) मार्फत कियोसाकीले लेखेका छन्,“इतिहासकै सबैभन्दा ठूलो क्र्यास सुरु भइसक्यो। यो दुर्भाग्यपूर्ण कुरा हो, तर अब आइसक्यो। सन् २०१३ मा मैले ‘रिच ड्याड्स प्रोफेसी’ पुस्तकमा यो ठूलो संकट आउने भविष्यवाणी गरेको थिएँ। यो अमेरिकामा मात्र होइन, युरोप र एसियामा पनि देखा परिरहेको छ।”
उनका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई) ले लाखौँ रोजगारी खोसेर कार्यालय भवन र आवासीय सम्पत्तिको बजारलाई ठूलो धक्का दिनेछ। तर यो संकटलाई उनी ‘अवसर’ का रूपमा हेर्छन्।
“लाखौँ मानिसले सबै कुरा गुमाउनेछन्, तर यदि तपाईं तयार हुनुहुन्छ भने यो क्र्यासले तपाईंलाई करोडपति बनाउनसक्छ,” उनले भनेका छन्।
लगानीका लागि कियोसाकीको सुझाव
परम्परागत सेयर र बन्डलाई ‘नक्कली सम्पत्ति’ भन्दै उनले यी वास्तविक सम्पत्तिमा लगानी गर्न आग्रह गरेका छन् :
-चाँदी : “सबैभन्दा सस्तो र सुरक्षित लगानी।” अहिलेको मूल्य करिब ५० डलर प्रति औँस छ, चाँडै ७० डलर पुग्ने र सन् २०२६ सम्म २०० डलरभन्दा माथि जाने उनको अनुमान छ।
-सोना : संकटको बेलाको सबैभन्दा भरपर्दो सम्पत्ति।
-बिटक्वाइन र इथेरियम : अहिले नै किन्नुपर्ने डिजिटल सम्पत्ति।
कियोसाकी वर्षौंदेखि नै डलर, सेयर र बन्डबाट टाढा रहन र सुन, चाँदी तथा क्रिप्टोकरेंसीमा लगानी गर्न सल्लाह दिँदै आएका छन्। विश्व अर्थतन्त्रमा देखिएको अस्थिरताका बीच उनको यो पछिल्लो चेतावनीले लगानीकर्ताहरूलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ।
-Agencies

