काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले भारत सरकारद्वारा साइबर सुरक्षा एप,‘सञ्चार साथी’ इन्स्टल गर्न जारी गरिएको निर्देशन पालना गर्न नसकिने जनाएको छ । भारत सरकारले एप्पल आईफोन र साओमी जस्ता स्मार्टफोन निर्माता कम्पनीहरुलाई सरकारी स्वामित्वको साइबर सुरक्षा एप प्रिलोड गर्न निर्देशन दिएको थियो ।
भारत सरकारले ती कम्पनीहरुलाई आफ्नो मोबाइलमा सञ्चार साथी एप प्रिलोड गर्न ९० दिनको समय दिएको छ । यो एप हराएको मोबाइल पत्ता लगाउन, ब्लक गर्न र गलत प्रयोग हुनबाट जोगाउन प्रयोग हुने भारत सरकारले जनाएको छ ।
यस्तै भारत सरकारले यो एप डिसएबल गर्न नसकिने गरी इन्स्टल गर्न समेत निर्देशन दिएको छ । अहिले भने यो एप डिलिट गर्न सकिन्छ ।
यो एपका बारेमा भारतका विपक्षी पार्टीहरुले यसले प्रयोगकर्ताको गोपनियता भंग हुने भन्दै चर्को विरोध गरेका छन् । यसैबीचमा अमेरिकी कम्पनी एप्पलले पनि उक्त एप प्रिलोड गर्न नसकिने स्पष्ट पारेको हो । एप्पलले विश्वका अन्य देशमा पनि यस्तो खाले निर्देशन नमान्ने भएकाले भारत सरकारको निर्देशन पनि मान्न नसकिने जनाएको छ ।

