काठमाण्डौ । मिड सोलु हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस २१ गते काठमाण्डौको पुरानो बानेश्वरमा रहेको मानसरोवर पार्टी प्यालेसमा दिनको १ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा गत आवका लागि सेयरधनीहरुलाई प्रस्तावित १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
बोनस सेयर वितरणपश्चात कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने र सो बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वित्तीय स्थितिको विवरण तथा आव २०८१/८२ को नाफा नोक्सान हिसाब विवरण र नगद प्रवाह विवरण अनुसूचीहरु सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
सभामा ५ जना संस्थापक सेयरधनी सञ्चालकको निर्वाचन गर्ने र सञ्चालक समितिबाट भएका निर्णय तथा काम कारवाही अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

