काठमाण्डौ । जेनजी आन्दोलनपछि लय लिन नसकेको सेयरबजार अहिले साइडवेजमा चलिरहेको छ । हरेक दिनजसो बजार सामान्य अंकले घटिरहेको छ भने कारोबार रकम पनि न्यून विन्दुमा झरेको छ ।
बजारमा सानो–सानो अंकको उतारचढाव देखिएको छ । बजार न त ह्वात्तै बढ्न नै सकेको छ, न त घट्न नै । अधिकांश लगानीकर्ताहरु अहिले पर्ख र हेरको अवस्थामा छन्, जसकारण पछिल्लो समय बजारमा कारोबार अत्यासलाग्दो गरी सुस्ताइरहेको छ ।
अस्थिर राजनीतिका कारण लगानीकर्ताहरुमा मनोबल बृद्धि हुन सकिरहेको छैन । केही विश्लेषकहरुका अनुसार अहिले बजारमा लाभांश सिजन चलिरहेको हुँदा लगानीको लागि उचित अवसर भएतापनि लगानीकर्ताहरु ढुक्कसँग बजार छिर्न सकिरहेक छैनन् ।
सेयरबजार सुस्ताइरहेको बेला कतिपय कम्पनीहरुको सेयर झण्डै आइपीओकै मूल्यमा पाउन थालिएको छ । अंकित मूल्य भन्दा पनि तल झर्ने अवस्था आएपछि लगानीकर्ताहरु अत्तालिन थालेका छन् ।
अहिले नेप्सेमा एक दर्जन कम्पनीको सेयरभाउ २ सय रुपैयाँ भन्दा तल छ । जसमा सबै वाणिज्य बैंकहरु र हाइड्रो कम्पनीहरु छन् ।
वाणिज्य बैंकहरुमा कुमारी बैंक, प्रभु बैंक, हिमालयन बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छन् भने हाइड्रो कम्पनीहरुमा शिव श्री हाइड्रो, अप्पर तामाकोशी, हिमाल दोलखा, बलेफी, आँखु खोला जलविद्युत, नेशनल हाइड्रोपावर र लिवर्टी इनर्जी रहेका छन् ।

बजारले लय लिन नसक्दा एक दर्जन कम्पनीको सेयरभाउ न्यून विन्दुमा पुगिसकेको छ । तर लगानीकर्ताहरुलाई उक्त कम्पनीहरुको सेयर खरिद गर्ने उपयुक्त अवसर पनि हुन सक्छ । यदि कसैले बजारमा सस्तो सेयरभाउ रहेका कम्पनीको सेयरमा लगानी गर्न खोज्दै हुनुहुन्छ भने उहाँहरुको लागि यी कम्पनीहरु उचित अवसर बन्न सक्छ ।
तर लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था तथा आधारभुत पक्ष विश्लेषण गर्न जरुरी हुन्छ । सस्तोमा पाइयो भन्दैमा झट्टै लगानी गर्दा पनि जोखिम हुन सक्ने भएकाले आफ्नो लगानीबाट कस्तो रिटर्न पाउन सकिन्छ भनेर लगानीकर्ताले अध्ययन गर्न जरुरी हुन्छ ।
अहिले बजारमा लो क्याप भएका कम्पनीको सेयरभाउ चाँडै बढ्ने वा घट्ने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा लगानीकर्ता आफैं चनाखो हुन सकेमा लो क्याप कम्पनी छानेर लगानी गर्दा उचित हुन्छ । साथै हाई क्याप कम्पनीको सेयरभाउ पनि खासै उतारचढाव नदेखिने र रिस्क पनि कम हुने गर्दछ । बजारमा नयाँ लगानीकर्ताहरुका लागि तुलनात्मक रुपमा हाई क्याप कम्पनीहरु र आधारभुत पक्षमा बलिया कम्पनीहरु उचित हुन सक्छ ।
नोटः यो अध्ययन लगानीकर्तालाई कुनै पनि कम्पनीको सेयर खरिद गर्न सिफारिस गरिएको होइन ।

