काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस २९ गते साधारण सभा आयोजना गर्ने भएको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको ३२ औं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा काठमाण्डौको ज्ञानेश्वरमा रहेको रानी महल ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको हाल कायम चुक्तापूँजीको २५ प्रतिशत नगद लाभांश(नगद लाभांशमा लाग्ने कर समेत) वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै, सभामा कम्पनीको प्रबन्धपत्रमा सामूहिक लगानी कोष योजना सञ्चालन गर्ने÷गराउने व्यवस्था थप गर्ने र निर्धारित सीमाभन्दा बढी भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाव तथा सोहि अवधिको नगद प्रवाह सहितको वित्तीय विवरण तथा सो सँग सम्वन्धित अनुसूचिहरु छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गरी, निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्तावहरु समेत पारित हुनेछन् ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

