काठमाण्डौ । हरेक साताको आइतबार हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ पस्किदै आएका छौं । आजपनि सोही स्तम्भलाई निरन्तरता दिने क्रममा विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकर कर्मचारीहरुको विचार बुझ्ने प्रयास गरेका छौं ।
आज हामीले घट्टेकुलो र अनामनगर आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लागनीकर्ताको मनोबल बुझ्ने कोसिस गरेका छौं ।
प्रायः बाक्लो उपस्थिति देखिने ब्रोकर हाउसहरु पनि आज सामान्य उपस्थिति देखिन्थ्यो । लगानीकर्ताहरुमा आज अरुबेला जस्तो उत्साहपन देखिदैनथ्यो । घट्दो बजारले लगानीकर्ताहरु निराशापन देखिन्थ्यो ।
सर्वप्रथम हामी बागबजारस्थित अनलाइन सेक्युरिटिज (ब्रोकर नं.४९) पुग्यौं । त्यहाँ पुग्दा बजार खुलिसकेको थियो । तर नेप्से परिसूचक सामान्य अंकले घटिसकेको थियो । उक्त ब्रोकर हाउसमा जम्मा ३ जना लगानीकर्ता मात्रै थिए । उनीहरु आ–आफ्नै मोबाइल चलाउन व्यस्त देखिन्थे । करिब १० मिनेटजति त्यहाँ बस्दा समेत लगानीकर्ताहरु एकआपसमा गफगाफ नगरेका कारण हामी त्यहाँबाट निस्कियौं ।
त्यसपछि हामी घट्टेकुलो चोकमा रहेको भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४) पुग्यौं । उक्त ब्रोकर हाउसमा लगानीकर्ताहरुको उपस्थिति सामान्य नै थियो । नेप्से परिसूचक भने झनै घट्दै थियो । लगानीकर्ताहरु विभिन्न स्क्रिप्टका विषयमा कुरा गर्दै थिए । केहीले अप्पर तामाकोशी त कोहीले अप्पर लोहोरे खोला हाइड्रोको विषयमा कुरा गर्दै थिए ।
एक जना लगानीकर्ता भने मस्त फोनमा बोल्दै थिए । उनले फोनमा विभिन्न कम्पनीका लाभांशका विषयमा कुरा गर्दै थिए । ‘बरु सिटिजन लाइफ इन्स्योरेन्सको सेयर किनेर राख्नुस न लाभांश पनि राम्रै छ’ फोनमा एकजना महिलाले भनिन्, ‘अरुको भन्दा त सिटिजन लाइफको राम्रो छ, बुकक्लोज पनि भएको छैन, त्यहि नै उठाए हुन्छ ।’
एकपछिपनि एकजना महिला लगानीकर्ता आइन् र भनिन्, ‘लौ ! आज पनि मार्केट त स्वाट्टै घटेछ त गएको हप्ता पनि यस्तै भएको थियो, यो बजारले पनि माथि जाने छाँटकाँट नै देखाएन ।’
नेप्से दोहोरो अंकले घटिसकेको थियो । हामी उक्त ब्रोकर हाउसबाट निस्किएर अनामनगरमै रहेको आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युटिटिज (ब्रोकर नं. ५७)मा पुग्यौं । उक्त ब्रोकरमा भने लगानीकर्ताहरुको उपस्थिति सामान्य नै रहेपनि एकआपमा मज्जाले गफगाफ गर्दै थिए ।
पछाडी सिटमा बसेका दुईजना लगानीकर्ताहरु भने एकआपसमा फुसुफुसु गफ गर्दै थिए । एकजना लगानीकर्ताले स्वस्तिक लघुवित्तको सेयर घटेको र बेच्नु पर्र्ने कुरा सुनाउँदै थिए । अर्का लगानीकर्ताले भने अहिले नै नबेच्न र उक्त कम्पनीको सेयरभाउ ४ हजार माथि पुग्ने सुझाव दिदै थिए ।
सेयरबजार झनै घट्दै थियो । लगानीकर्ताहरु समग्रमा बजारकै कुरा गर्दै थिए । एकछिनपछि एकजना लगानीकर्ताको प्रवेश भयो र भने, ‘आजको बजार घट्नुको कारण त्यहि अग्रवाल पक्राउको कारण त होला नि ! पहिला पनि त्यो पक्राउ पर्दा बजार निकै घटेको थियो, यसपटक पनि त्यस्तै होला जस्तो छ ।’
उनको कुरालाई काट्दै अर्का लगानीकर्ताले भने, ‘उसले गर्दा समग्र बजार नै घट्नुपर्ने के कारण छ, त उसले चलाएको सेयर त्यहि जोशी हाइड्रोपावर हो त्यो मात्रै घटे भइहाल्यो त सबै कम्पनीको घट्नु नै पर्ने हो र !’
लगानीकर्ताहरु दिपेन्द्र अग्रवाल पक्राउ परेको विषयमा कुराकानी गर्दै थिए । एकछिनपछि अर्को लगानीकर्ताले भने, ‘नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले अग्रवाललाई पक्राउ गराएपछि अन्यको पनि फाइल खोल्ने कुरा छ, यो विषयले सम्बन्धित लगानीकर्ताहरु डराएका छन्, अनि बजार त घटिहाल्छन् नि !’ उनले थपे, ‘अग्रवाललाई समाउन ठूलो समूह लागिपरेको छ, यो नेपाल रि इन्स्योरेन्स र एनआरएन समूहका ठूला लगानीकर्ताहरु नै अग्रवाललाई समाउनमा सक्रिय छन् भन्ने सुनिन्छ । अग्रवालले पनि खुरुक्क आफ्नै मात्रै स्क्रिप्ट हेरे भइहाल्थ्यथो त बेकारमा सबैलाई सुनाएर बोल्न पर्थ्यो त ।’
उनको कुरालाई उपस्थित एक महिला लगानीकर्ताले समय समर्थन जनाइन् । ‘दिपेन्द्र अग्रवाल पनि मान्छे त गतिला होइनन्, उनले भनेको स्क्रिप्ट किन्ने हो भने फस्यो भन्दा पनि हुन्छ’ उनले भनिन्, ‘उनले गर्दा कतिजनाको त घटबार नै बिग्रिसकेको छ । अग्रवालले आफ्नो सेयर डेढ सय रुपैयाँजति बढाइसकेपछि बल्ल हल्ला गर्न थाल्छ ।’
उक्त ब्रोकर हाउसमा लगानीकर्ताहरु समग्रमा दिप्रेन्द्र अग्रवालकै विषयमा कुराकानी गर्दै थिए र अब पक्राउ परेपछि बजार झन् घट्न सक्ने आँकलन गर्दै थिए ।
त्यसपछि हामी उक्त ब्रोकर हाउसबाट निस्किएर अनामनगरमै रहेको इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं.४५) पुग्यौं । उक्त ब्रोकरबाट भने अधिकांश लगानीकर्ताहरु निस्किसकेका रहेछन् । सँधै लगानीकर्ताको बाक्लो उपस्थितिसँगै राजनीतिक विषयमा चर्को बहस हुने ब्रोकर हाउस आज खाली–खाली जस्तै भइसकेको थियो ।
एकछिनपछि अर्को लगानीकर्ता पनि निस्किन आँट्दै थिए । ठट्यौली पारामा उनलाई अर्को लगानीकर्ताले भने, ‘तपाई पनि झन् बजार घटाएर निस्किन लाग्नु भयो त’ जवाफ फर्काउँदै जान लागेका लगानीकर्ताले भने, ‘यस्तो घटेको बजार हेरेर को बस्छ त अब यहाँबाट निस्किएर यसो बाहिर घुम्छु घरमा त बेलुका मात्रै जाने हो अरु काम छैन ।’
साथै दायाँ कुनामा बसेका लगानीकर्तारु भने साहज उर्जाको राइट सेयर अब सूचीकृत हुने र सूचीकृतपश्चात् सेयरभाउ घट्न सक्ने अनुमान लगाइरहेका थिए ।

