काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.४० प्रतिशत अर्थात १०.५३ अंकले घटेर २ हजार ६२२.८८ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३२ प्रतिशतले घटेर ४५५.३१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३७ वटा स्क्रिप्टको १ करोड ३७ लाख ३०७ कित्ता सेयर ४ अर्ब ७७ करोड ४७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार शालिकराम ढकाल भन्छन्, ‘राजनीतिक विषयका कारण हिजो एकाएक बजारमा उच्च अंकको बढोत्तरी देखिएको थियो । आज त्यसैको करेक्सन देखिएको हो, तर यो करेक्सन सामान्य नै मानिन्छ । लगानीकर्ताहरुले धेरै ठूलो अपेक्षा पनि राख्नु हुँदैन । राजनीतिक माहोल राम्रो बन्दै गएपछि सेयरबजार पनि विस्तारै राम्रो हुँदै जान्छ । आज बजार सामान्य घट्दा आत्तिहाल्नुपर्ने अवस्था छैन ।’
त्यस्तै, अर्का बजार जानकार नयन बास्तोला भन्छन्, ‘अझैपनि राजनीतिक अन्योलता भएका कारण लगानीकर्ताहरुमा मनोबल खासै बढ्न सकिरहेको छैन । साथै धितोपत्र बोर्डले शंकास्पद कारोबारको फाइल खोल्ने कुरा छ, तर कारबाही प्रक्रिया अघि बढाउन सकिरहेको छैन । त्यस्ता शंकास्पद कारोबार गर्नेहरुलाई अन द स्पट बोर्डले कारबाही गर्नुपर्ने व्यवस्था गरिनुपर्दछ, तबमात्र मार्केट स्थिर हुन सक्छ । यस्ता खालका गतिविधिले मार्केटलाई प्रभाव पार्दछ । बाँकी राजनीतिक पक्षले पनि बजार बढाउन सकिरहेको छैन । सम्भवतः समानुपातिकतर्फको आज लिस्ट बुझाउनुपर्ने हुँदा भोलिबाट बजारले लय समाउला भन्ने अपेक्षा हो ।’
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज विकास बैंक र म्युचुअल फण्ड समूह मात्रै बढे । यी समूहहरु क्रमशः ०.६७ र ०.२५ प्रतिशतले बढे ।
यो दिन जीवन बीमा समूह सर्वाधिक अर्थात ०.८५ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.३८, फाइनान्स ०.०४, होटल ०.१२, हाईड्रो ०.७८, लगानी ०.२२, उत्पादन तथा प्रशोधन ०.०१, लघुवित्त ०.०८, निर्जीवन ०.२२, अन्य ०.८२ र व्यापार ०.६३ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज एसवाई प्यानल नेपालको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २३ करोड २ लाख बढीको सेयर कारोबार भयो ।
यस्तै, मन्जुश्री फाइनान्सको १७ करोड ९८ लाख, शिवम् सिमेन्टको १३ करोड ६३ लाख, ङादी ग्रुप पावरको १२ करोड १० लाख र हिमालयन रि इन्स्योरेन्सको १० करोड ९२ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज एसवाई प्यानल नेपाल र ग्लोबल आइएमई समुन्नत योजना–२ मा अपर सर्किट लाग्यो । यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.७६ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ६.५४ र ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.८५ प्रतिशतले बढ्यो ।
यो दिन विन नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घटेर लोवर सर्किट लाग्यो । सुपरमादी हाईड्रोपावरको सेयरमूल्य पनि आज ३.८३ प्रतिशत र मानुषी लघुवित्तको सेयरमूल्य ३.२३ प्रतिशतले घट्यो ।

