काठमाण्डौ । साताको चौथो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.४१ प्रतिशत अर्थात १०.८७ अंकले बढेर २ हजार ६३३.७६ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३१ प्रतिशतले बढेर ४५६.७३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३४२ वटा स्क्रिप्टको १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता सेयर ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार टेकेन्द्र थपलियाले बजार बिस्तारै माथि लाग्ने विश्वास व्यक्त गरे । देशमा चुनावी माहोल बन्दै गएकाले देशले राजनीतिक निकास पाउने आशामा लगानीकर्ता रहेको उनले बताए ।
अहिले बजार घट्नु पर्ने खासै कुनै कारण छैन । अब बजार जाने भनेको माथि नै हो । आशा गरौंै आगामी दिनमा पनि बजारमा क्रमिकः सुधार आउदै बजारले उकालो यात्रा तय गर्नेछ,’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात १.६१ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.२५, विकास बैंक ०.४४, फाइनान्स ०.०६, होटल ०.९२, हाईड्रो ०.२३, लगानी ०.२०, जीवन बीमा ०.५३, लघुवित्त ०.३२, म्युचुअल फण्ड ०.४७, निर्जीवन बीमा ०.३७, अन्य ०.३४ र व्यापार समूह ०.३३ प्रतिशतले बढ्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज ग्रीन भेन्चर्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १७ करोड ७९ लाख बढीको सेयर कारोबार भयो ।
यस्तै, बन्दीपुर केवलकारको १५ करोड ८८ लाख, श्रीनगर एग्रीटेकको १३ करोड ५८ लाख, हिमालयन रि इन्स्योरेन्सको १२ करोड ९१ लाख र शिवम् सिमेन्टको १२ करोड ४३ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज एसवाई प्यानल नेपाल र न्यादी हाईड्रोपावरको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । यस्तै पियोर इनर्जीको सेयरमूल्य ६.४७, थ्रिस्टार हाईड्रोपावरको ४.८२ र श्रीनगर एग्रीटेकको सेयरमूल्य ४.०६ प्रतिशतले बढ्यो ।
यो दिन विन नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घटेर लोवर सर्किट लाग्यो । ईङ्वा हाईड्रोपावरको सेयरमूल्य पनि आज ३.६१ प्रतिशत र मेन्छियाम हाईड्रोपावरको सेयरमूल्य ३.५६ प्रतिशतले घट्यो ।

