काठमाण्डौ । सन् २०२५ मा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ मा कुल ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल आएका छन्।
सन् २०२४ मा भने ११ लाख ४७ हजार ५४८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। यस आधारमा सन् २०२५ मा विदेशी पर्यटक आगमनमा सामान्य तर सकारात्मक वृद्धि देखिएको बोर्डले जनाएको छ।
तथ्याङ्कअनुसार सन् २०२५ मा नेपाल भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट २ लाख ९२ हजार ४३८ जना आएका छन्। त्यसपछि अमेरिकाबाट १ लाख १२ हजार ३१६, चीनबाट ५८ हजार ६८४, बेलायतबाट ५७ हजार ५४५, बंगलादेशबाट ४९ हजार ३५७, अष्ट्रेलियाबाट ३७ हजार ५५०, श्रीलंकाबाट ३० हजार २४३, थाइल्याण्डबाट ३० हजार २२७ तथा जर्मनीबाट २४ हजार ७६३ पर्यटक नेपाल आएका छन्।
नेपाल पर्यटन बोर्डका अनुसार गत डिसेम्बर महिनामा मात्र ९८ हजार १९० विदेशी पर्यटक नेपाल भित्रिएका थिए। उक्त महिनामा भारतबाट ३० हजार ९३, चीनबाट ८ हजार ६८०, अमेरिकाबाट ६ हजार ६०५, बंगलादेशबाट ४ हजार ९८०, अष्ट्रेलियाबाट ४ हजार ४१९, थाइल्याण्डबाट ४ हजार २३४, बेलायतबाट ३ हजार ७९३, म्यानमारबाट २ हजार ७५८ तथा मलेसियाबाट २ हजार ४२९ पर्यटक नेपाल आएको बोर्डले जनाएको छ।
पर्यटक आगमनमा देखिएको यो वृद्धि नेपालका पर्यटन गतिविधि क्रमशः पुनःलयमा फर्कँदै गएको संकेत भएको पर्यटन व्यवसायीहरूको भनाइ छ। आगामी दिनमा पर्यटकीय पूर्वाधार सुधार, हवाई पहुँच विस्तार र प्रवर्द्धन कार्यक्रम प्रभावकारी बनाउन सके पर्यटक संख्या अझै बढ्ने अपेक्षा गरिएको छ।

