काठमाण्डौ । यूएई (संयुक्त अरब इमिरेट्स) स्थित विभिन्न कलेजमा अध्ययन गर्न पठाइदिने भन्दै ठूलो रकम असुली ठगी गरेको अभियोगमा कन्सल्टेन्सी सञ्चालकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाण्डौका विभिन्न स्थानमा कार्यालय सञ्चालन गर्दै नेपालका विभिन्न विद्यार्थीहरूलाई फ्रान्स, अष्ट्रेलिया लगायतका मुलुकका विश्वविद्यालयबाट मान्यता प्राप्त यूएईस्थित कलेजमा क्रेडिट ट्रान्सफर हुने शैक्षिक कोर्स अध्ययन गराइदिने भनी विश्वास दिलाई उनीहरूलाई झुक्याइएको पाइएको छ। तर, ती कलेजहरू यूएईको उच्च शिक्षा मन्त्रालयअन्तर्गतको MOHESR / Commission for Academic Accreditation (CAA) बाट स्वीकृति नलिएका प्रशिक्षण संस्थाहरू रहेको अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार प्रतिव्यक्ति ८ लाख रुपैयाँदेखि २२ लाख रुपैयाँसम्म रकम असुली गरी मुलुकी अपराध संहिता, २०७४ अनुसार ठगीसम्बन्धी कसूर गरेको आरोप लागेको हो। हालसम्म १३ जना पीडितले जाहेरी दिएका छन्।
पीडितहरूको जाहेरीका आधारमा काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई पुस ३० गते कृष्ण थापा, रामचन्द्र टन्डन, सुवास सिलवाल क्षेत्री,हेमराज भट्ट,र दामोदर ढकाललाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

