काठमाण्डौ । हालसम्म अधिकांश बीमा कम्पनीले लाभांश घोषणा गरिसकेका छन् । जीवन बीमातर्फ सबै कम्पनीले लाभांश सम्बन्धी निर्णय गरिसकेका छन् भने निर्जीवनतर्फ ४ कम्पनीको लाभांश घोषणा हुन बाँकी छ ।
नेप्सेमा जीवनबीमातर्फ १२ र निर्जीवन बीमातर्फ १२ गरी कुल २४ बीमा कम्पनी सूचीकृत छन् । हालसम्म २० कम्पनीको लाभांश सम्बन्धी निर्णय भइसकेको छ । यो कुल बीमा कम्पनीको लगभग ९० प्रतिशत कम्पनीको निर्णय हो ।
जीवन बीमातर्फ हिमालयन लाइफ इन्स्योरेन्स बाहेक सबै कम्पनीले राम्रै लाभांश दिएका छन् । निर्जीवनतर्फ अब युनाइटेड अजोड, सानिमा जिआइसी, प्रभु इन्स्योरेन्स राष्ट्रिय बीमा कम्पनीको लाभांश सम्बन्धी निर्णय हुन बाँकी छ । उक्तमध्ये सरकारी कम्पनी राष्ट्रिय बीमा कम्पनीले हालसम्म सेयरधनीलाई लाभांश नबाँडेकाले सम्भवतः अब तीन कम्पनीको मात्रै लाभांश सम्बन्धी निर्णय आउनेछ ।
समग्रमा बीमा कम्पनीहरुको प्रस्तावित लाभांश सुखद् देखिएको छ । सूचीकृत कम्पनीहरुमा बैंक तथा वित्तीय संस्था र अन्य कम्पनीहरुको लाभांशदर खस्किँदै गइरहेकोमा बीमा कम्पनीहरुको प्रस्तावित लाभांश पनि उत्कृष्ट देखिएको छ ।
अधिकांश बीमा कम्पनीहरुले बोनस भन्दा नगद लाभांशमा नै बढी जोड दिएका छन् । बीमा कम्पनीहरुको तोकिएको चुक्तापूँजी पुगिसकेकाले बोनस भन्दा बढी नगदमै जोड दिएका हुन् ।
बोनस सेयर दिएका कम्पनीले पनि न्यूनतम बोनस दिएर बढी नगदमै जोड दिएका छन् । नेप्सेमा सूचीकृत जीवन बीमातर्फ सबै कम्पनीको तोकिएको पूँजी पुगिसकेको छ भने निर्जीवनतर्फ युनाइटेड अजोड, प्रभु इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र सानिमा जिआइसी इन्स्योरेन्सको पूँजी अझै पुगेको छैन । साथै उक्त कम्पनीहरुले लाभांश घोषणा पनि गर्न बाँकी नै छ ।
अपुग पूँँजी भएका चार निर्जीवन बीमा कम्पनीहरुमा युनाइटेड अजोड र सानिमा जिआइसी हकप्रद निष्कासनको तयारीमा छन् भने राष्ट्रिय बीमा कम्पनी र प्रभु इन्स्योरेन्सले कुनै पनि योजना बनाएका छैनन् । तर यी कम्पनीहरुले पनि बढी बोनस भन्दा नगदमै जोड दिन सक्ने देखिन्छ ।


