काठमाण्डौ । फिनल्याण्डका वैज्ञानिकहरूले तारबिना बिजुलीलाई हावामा पठाउने नयाँ प्रविधि विकास गरेका छन्। यो अनुसन्धान युनिभर्सिटी अफ हेलसिन्की र युनिभर्सिटी अफ ओउलूका वैज्ञानिकहरूको संयुक्त प्रयासबाट सफल भएको हो।
अहिलेसम्म बिजुली प्रवाहका लागि तार वा केबल अनिवार्य मानिँदै आएको थियो। तर, यस नयाँ प्रविधिमा अल्ट्रासोनिक ध्वनि तरंगहरू, रेडियो फ्रिक्वेन्सी र लेजर किरणको संयोजनबाट हावामा सुरक्षित तरिकाले बिजुली पठाउन सकिन्छ। वैज्ञानिकहरूले यस प्रविधिलाई ‘एकॉस्टिक वायर’ नाम दिएका छन्, जसको अर्थ ध्वनि आधारित अदृश्य तार हो।
विशेषज्ञहरूले यस प्रविधिमा प्रयोग हुने अल्ट्रासोनिक तरंगहरूले हावामा बिजुलीको लागि मार्ग तयार गर्छन् र त्यसमार्फत लेजरको सहायताले बिजुली डिभाइससम्म पुग्ने बताएका छन्। यो प्रविधि वैज्ञानिक नियमको उल्लंघन नगरी ऊर्जा नियन्त्रणलाई पूर्ण रूपमा सक्षम बनाउँछ।
फिनल्याण्डका वैज्ञानिकहरूले हाल यो प्रविधि साना उपकरणहरूको लागि सीमित भएको समेत बताएका छन्। तर भविष्यमा यसलाई घर, कार्यालय र उद्योगहरूमा तारबिना बिजुली आपूर्ति गर्ने उद्देश्यका साथ व्यापक रूपमा प्रयोग गर्न सकिने सम्भावना रहेको छ।
यो प्रविधिले भविष्यमा हाम्रो जीवनशैली र उद्योग प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने आँकलन गरिएको छ ।

