काठमाण्डौ । अष्ट्रेलियापछि अब बेलायत सरकारले पनि बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने सम्भावना अध्ययन गर्न सुरु गरेको छ। अष्ट्रेलियाले यसअघि नै ६ वर्षभन्दा कम उमेरका बालबालिकाको लागि सामाजिक सञ्जालमा पहुँचमा रोक लगाएको थियो।
बेलायत सरकारले विश्वभरका प्रमाणहरू अध्ययन गरेर निर्णय गर्ने बताएको छ। साथै, एआईबाट बनेका सामग्री र अश्लील तस्वीरको समस्या समाधानका लागि पनि कडा कदम चाल्ने त्यहाँको सरकारको तयारी छ।
सरकारी रिपोर्ट अनुसार, बेलायतले केही विकल्पहरूमा विचार गरिरहेको छ। तीमध्ये डिजिटल सहमतिको उमेर १३ वर्षबाट बढाउने सम्भावना, फोन प्रयोगमा समयसीमा लागू गर्ने ताकि बालबालिकाले फोनको अत्यधिक प्रयोग नगरुन र लगातार स्क्रोल गर्ने वा स्ट्रीक्स जस्ता लत लाग्ने सामग्रीमा रोक लगाउने रहेका छन्।
सरकारका मन्त्रीहरूले अष्ट्रेलियाको अनुभव बुझ्न त्यस देशको भ्रमण गर्ने योजना पनि बनाएका छन्। उमेर प्रमाणित गर्ने प्रणाली सुधारेर बालबालिकाले झुठा खाता खोल्न नपाउने व्यवस्था पनि अध्ययन भइरहेको छ।
यसै महिना, एलन मस्कको ग्रोक एआई च्याटबटले बिना अनुमति अश्लील सामग्री उत्पादन गरेको थियो, जसमा बालबालिकासम्बन्धी असभ्य तस्वीरहरू पनि समावेश थिए। यस घटनाले विश्वभरमा चर्चा र चिन्ता बढाएको छ। बेलायत सरकारले यस्तो उपकरणहरूमा पूर्ण प्रतिबन्ध लगाउने योजना बनाएको छ। साथै, बालबालिकाले आफ्नो उपकरणमा अश्लील तस्वीर लिन, हेर्न वा साझा गर्न नपाउने सुनिश्चित गर्ने तयारी गरेको छ।

