काठमाण्डौ । नेपालमा पर्वतारोहण र ट्रेकिङका लागि आएका विदेशी पर्यटकलाई ‘फेक रेस्क्यु’को नाममा संगठित रूपमा ठगी गरिएको खुलासा भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लामो समयदेखि चल्दै आएको यो जालो पर्दाफास गर्दै तीन वटा ट्राभल तथा रेस्क्यु कम्पनीका सञ्चालक र म्यानेजरसहित ६ जनालाई पक्राउ गरेको हो ।
सीआईबीका प्रमुख तथा अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत फेक रेस्क्यु प्रकरणमा संलग्न व्यक्तिहरूलाई अदालतबाट पक्राउ अनुमति लिएर काठमाडौँबाट नियन्त्रणमा लिइएको जानकारी दिए । पक्राउ परेकामाथि राष्ट्रहितविरुद्धको कसुर, आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
को-को परे पक्राउ ?
पक्राउ पर्नेमा माउन्टेन रेस्क्यु सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल र म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर (चार्टर्ड) सर्भिस प्रालिका सञ्चालक रविन्द्र अधिकारी र अपरेशन म्यानेजर विवेकराज थपलिया, एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स/एसोसिएट्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसी रहेका छन् ।
कसरी हुन्थ्यो फेक रेस्क्यु ?
सीआईबीको अनुसन्धान अनुसार पर्वतारोहण वा ट्रेकिङमा गएका विदेशी पर्यटकलाई सामान्य असहजता, हल्का स्वास्थ्य समस्या वा कहिलेकाहीँ कुनै समस्या नै नभएको अवस्थामा समेत ‘आपत्कालीन उद्धार आवश्यक’ भनेर हेलिकोप्टरमार्फत उद्धार गरिएको देखाइन्थ्यो । त्यसपछि ती पर्यटकको बीमा कम्पनीसँग ठूलो रकम दाबी गरिन्थ्यो । यही प्रक्रियालाई व्यवस्थित रूपमा दुरुपयोग गर्दै करोडौँ डलरको नक्कली बीमा दाबी गरिएको सीआईबीको निष्कर्ष छ ।
तीन कम्पनी, सयौँ शंकास्पद रेस्क्यु
अनुसन्धानबाट तीन कम्पनीमार्फत भएको फेक रेस्क्युको विवरण यस्तो छः
माउन्टेन रेस्क्यु सर्भिस प्रालि
-कुल रेस्क्यु: १,२४८ जना
-फेक रेस्क्यु: १७१ जना
-बीमा दाबी: १ करोड अमेरिकी डलरभन्दा बढी
नेपाल चार्टर सर्भिस प्रालि
-कुल रेस्क्यु: ४७१ जना
-फेक रेस्क्यु: ७५ जना
-बीमा दाबी: ८२ लाख अमेरिकी डलर
एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स/एसोसिएट्स प्रालि
-कुल रेस्क्यु: ६०१ जना
-शंकास्पद/फेक रेस्क्यु: ७१ जना
-बीमा दाबी: ११ लाख ५३ हजार अमेरिकी डलर
पर्यटन छविमा गम्भीर धक्का
सीआईबीका अनुसार यो प्रकरण केवल आर्थिक ठगीमा सीमित छैन, यसले नेपालको साहसिक पर्यटन, पर्वतारोहण र अन्तर्राष्ट्रिय छवामै गम्भीर प्रश्न उठाएको छ । फेक रेस्क्युका कारण वास्तविक आपतकालीन अवस्थामा उद्धार प्रणालीमाथि नै अविश्वास पैदा हुने खतरा रहेको सीआईबीको भनाइ छ ।
हाल पक्राउ परेका व्यक्तिहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । सीआईबीले यस प्रकरणमा अन्य व्यक्ति, कम्पनी तथा बीमा नेटवर्कसमेत जोडिएको आशंकामा अनुसन्धानको दायरा विस्तार गरिने जनाएको छ ।

