काठमाण्डौ । हङकङमा सूचीकृत चीनको ठूलो खेलकुद ब्रान्ड एन्ता स्पोर्ट्स प्रोडक्ट्सले जर्मन खेलकुद कम्पनी पुमाको २९.०६ प्रतिशत स्वामित्व खरिद गर्ने घोषणा गरेको छ। एन्ताले पुमाको उक्त हिस्सेदारी १.५ अर्ब युरो (करिब १.८ अर्ब अमेरिकी डलर)मा किन्न लागेको हो । यससँगै एन्ता पुमाको सबैभन्दा ठूलो सेयरधनी बनेको छ।
एन्ताका अधिकारीहरूले आफ्नो बजार विशेषज्ञता प्रयोग गर्दै पुमालाई चीनको लाभदायी बजारमा बिक्री वृद्धि गर्न सहयोग पुर्याउने बताएका छन्। यस कदमले एन्तालाई आफ्नो ब्रान्ड पोर्टफोलियो—जस्तै फिला र सालोमनसँगै अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने अवसर पनि दिने जनाइएको छ।
कम्पनीले पुमाको ४३ मिलियन कित्ता प्रतिसेयर ३५ युरोमा खरिद गर्नेछ । यो खबर बाहिरिएसँगै पुमाको सेयरमूल्य १७ प्रतिशतले बढेको थियो । तर पछि यो वृद्धि ६ प्रतिशतमा झरेको छ । तर कम्पनीको सेयरमूल्य अझै पछिल्ला १० वर्षको न्यूनतम स्तर नजिक रहेको छ।
पुमा हाल नाइकी, एडिडास, र नयाँ ब्रान्डहरू जस्तै अन रनिङसँग प्रतिस्पर्धामा पछि परेको छ।

