काठमाण्डौं । निर्जीवन बीमा कम्पनीहरुले साढे २३ अर्ब रुपैयाँ बराबरको प्रिमियम कलेक्सन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको दोस्रो त्रैमाससम्म १४ निर्जीवन बीमा कम्पनीले २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १३.३७ प्रतिशत बढी हो ।
गत आवको दोस्रो त्रैमाससम्म निर्जीवन बीमकहरुले २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ प्रिमियम भित्र्याएका थिए । सो अवधिसम्म आइपुग्दा राष्ट्रिय बीमा कम्पनी बाहेक सबै कम्पनीको व्यवसाय उल्लेख्य बढेको छ । सबैभन्दा धेरै प्रिमियम कलेक्सन गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले २ अर्ब ७७ करोड ६४ लाख रुपैयाँ व्यवसाय भित्र्याएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ७.१९ प्रतिशत बढी हो ।
त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अ र्ब ६१ करोड ३३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो रकम गत आवको तुलनामा २.३४ प्रतिशत मात्रै बढी हो । यसका साथै हिमालयन एभरेष्टले २ अर्ब ४९ करोड २९ लाख रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब १९ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
गत आवको तुलनामा हिमालयन एभरेष्टको व्यवसाय ४५.०७ प्रतिशतले बढेको छ भने सिद्धार्थ प्रिमियरको २.७३ प्रतिशतले बढेको छ ।
त्यस्तै, आइजीआई प्रुडेन्सियलले २ अर्ब ६ करोड, एनएलजीले १ अर्ब ८७ करोड, नेको इन्स्योरेन्सले १ अर्ब ८० करोड, युनाइटेड अजोडले १ अर्ब ५३ करोड, दि ओरियन्टल इन्स्योरेन्सले १ अर्ब ५० करोड, सानिमा जिआइसीले १ अर्ब ४२ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब १८ करोड, प्रभु इन्स्योरेन्सले ९३ करोड ७२ लाख र राष्ट्रिय बीमा कम्पनीले ५६ करोड ७२ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

