काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले झण्डै एक खर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् ।
यो प्रिमियम गत आवको सोही अवधिसम्मको तुलनामा १७ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बराबरको प्रिमियम कलेक्सन गरेका थिए ।
सो अवधिसम्म सबै बीमा कम्पनीहरुको व्यवसाय उल्लेख्य बढेको छ । दोस्रो त्रैमाससम्म सबैभन्दा धेरै प्रिमियम भित्र्याउनेमा भने नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनी एक्लैले २५ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १३.६० प्रतिशत बढी हो ।
त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले ११ अर्ब ३७ करोड, एलआइसी नेपालले १० अर्ब २२ करोड, हिमालयन लाइफले ८ अर्ब ६२ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब ३३ करोड, सूर्यज्योति लाइफले ५ अर्ब ६६ करोड, एशियन लाइफले ४ अर्ब ६४ करोड, सिटिजन लाइफले ४ अर्ब ४ करोड, सानिमा रिलायन्स लाइफले ३ अर्ब ६३ करोड, मेट लाइफले ३ अर्ब २४ करोड, आइएमई लाइफले ३ अर्ब १८ करोड, रिलायबल नेपाल लाइफले २ अर्ब ९८ करोड, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ७९ करोड र सन नेपाल लाइफले २ अर्ब ११ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ ।
गत आवको तुलनामा सबैभन्दा बढी व्यवसाय ग्रोथ गर्नेमा राष्ट्रिय बीमा जीवन बीमा कम्पनी रहेको छ । यो कम्पनीको व्यवसाय १२८.२५ प्रतिशतले बढेको छ ।

