काठमाण्डौ । विश्वको दिग्गज टेक कम्पनी एप्पलले आर्थिक वर्ष २०२६ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले उक्त अवधिमा १४३.८ बिलियन डलरबराबरको आम्दानी गरेको छ । यो आम्दानी गत वर्षको तुलनामा १६ प्रतिशतले बढी हो ।
यो एप्पलले हालसम्म आर्जन गरेको सबैभन्दा उच्च त्रैमासिक आम्दानी समेत हो । आईफोनको बिक्रीमा आएको उछाल र अनेपक्षित रुपमा चिनियाँ बजारमा कम्पनीले गरेको कमब्याकका कारण कम्पनीको आम्दानीमा राम्रो सुधार देखिएको हो ।
एप्पलको आम्दानीमा सबैभन्दा बढी हिस्सा आईफोनको बिक्रीको रहेको छ । आईफोन बिक्री २३ प्रतिशतले बढेर ८५.३ बिलियन डलर पुगेको छ । वर्तमान समयमा विश्वभर एप्पलका २५० करोड भन्दा बढी सक्रिय डिभाइस रहेका छन् ।
पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी २.८४ डलर रहेको छ । पछिल्लो समय चिनियाँ बजारमा आईफोनको उपस्थितीलाई लिएर विभन्नि खाले चिन्ता व्यक्त भईरहेका थिए । तरु ती सबै चिन्ता र भ्रमलाई चिर्दै कम्पनीले चिनियाँ बजारमा आफ्नो उपस्थिती बलियो बनाउँदै गएको संकेत दिएको छ । चिनियाँ बजारमा एप्पलको आम्दानी ३८ प्रतिशतले बढेको छ ।
एप्पलका सीईओ टिम कुकले यो त्रैमास चिनियाँ बजारमा कम्पनीका लागि हालसम्मकै उत्कृष्ठ रहेको बताए । उनले यो त्रैमासमा आईफोन चिनमा बिक्री हुने शीर्ष तीन स्मार्टफोन ब्राण्डको सूचीमा पर्न सफल भएको समेत बताए ।
रेकर्डतोड आम्दानी भएपनि कम्पनीका अघि केही चुनौतिहरु भने यथातव छन् । ३–नानोमिटर चिप प्रोडक्सनको कमीका कारण कम्पनीलाई माग पुरा गर्न कठिनाईको सामना गर्नु परिरहेको छ ।
सीईओ कुलले यतिबेला कम्पनी सप्लाई चेज मोडमा रहेको बताएका छन् । अर्थात आपूर्तिका तुलनामा माग बढी रहेको छ । यसका साथै मेमोरी चिप्सको बढ्दो मूल्यका कारण आगामाी त्रैमासहरुमा कम्पनीको मुनाफामा कमी आउन सक्ने सम्भावना समेत देखिएको छ ।

