काठमाण्डौ । अमेरिकी प्रविधि कम्पनी अमेजनले एआई र पूर्वाधार क्षेत्रमा ठूलो लगानी गर्ने घोषणा गरेको छ। बिहीबार सार्वजनिक गरिएको वार्षिक वित्तीय प्रतिवेदन अनुसार, अमेजनले सन् २०२५ मा करिब २०० अर्ब अमेरिकी डलर लगानी गर्ने जनाएको छ, जसको ठूलो हिस्सा एआई क्षेत्रमा केन्द्रित हुनेछ।
यो रकम गत वर्षको १२५ अर्ब डलरको लगानीभन्दा उल्लेखनीय रूपमा बढी हो। यद्यपि, उक्त घोषणापछि लगानीकर्ताहरू उत्साहित देखिएनन् र अमेजनको सेयरमूल्य कारोबार समयपछि ११ प्रतिशतभन्दा बढीले घट्यो।
गत साता सार्वजनिक विवरणअनुसार अमेजन, मेटा, गुगल र माइक्रोसफ्टले सन् २०२५ मा एआई र सम्बन्धित परियोजनाहरूमा संयुक्त रूपमा करिब ६५० अर्ब डलर लगानी गर्ने योजना बनाएका छन्। यसमध्ये अमेजन सबैभन्दा आक्रामक लगानीकर्ता बनेको छ। यी कम्पनीहरूको एआई लगानीको आकार पेरु देशको कुल आर्थिक उत्पादनभन्दा दोब्बरभन्दा बढी रहेको बताइएको छ।
अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जासीले विश्लेषकहरूसँगको छलफलमा एआईलाई असाधारण अवसर भन्दै भविष्यमा यसले उल्लेखनीय नाफा दिने विश्वास व्यक्त गरे।
तर एआई क्षेत्रमा बढ्दो लगानीसँगै सम्भावित ‘बबल’ को चिन्ता पनि बढ्दै गएको छ। बेलायतको केन्द्रीय बैंक (बैंक अफ इङ्ग्ल्याण्ड) ले गत डिसेम्बरमा अमेरिकी प्रविधि कम्पनीहरूको सेयर मूल्य डटकम बबलअघिको अवस्थासँग मिल्दोजुल्दो रहेको चेतावनी दिएको थियो।
अमेजनका प्रमुख वित्तीय अधिकृत ब्रायन ओल्साभ्स्कीले एआईमा खर्च बढ्दै जाँदा अन्य क्षेत्रमा लागत कटौती गरिने जानकारी दिए। कम्पनीले गत साता थप १६ हजार कर्मचारी हटाएको थियो, जसअघि अक्टोबरमा १४ हजार पद कटौती गरिएको थियो।
एआई लगानीको दौडमा अन्य प्रविधि कम्पनीहरू पनि उस्तै रणनीतिमा छन्। मेटाका प्रमुख मार्क जुकरबर्गले सन् २०२५ मा १३५ अर्ब डलरसम्म लगानी गर्ने घोषणा गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर हो। उनले एआईका कारण ठूला परियोजनामा आवश्यक जनशक्ति घट्दै गएको उल्लेख गर्दै २०२६ मा एआईले काम गर्ने तरिका नाटकीय रूपमा परिवर्तन गर्ने भविष्यवाणी गरे।
गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले कम्पनीले यस वर्ष १८५ अर्ब डलरभन्दा बढी एआई र पूर्वाधारमा लगानी गर्ने बताएका छन्। माइक्रोसफ्टले ठोस रकम नबताए पनि एआईसँग सम्बन्धित पूर्वाधार र प्रतिभा भर्नामा हालसम्म ७२ अर्ब डलरभन्दा बढी खर्च गरिसकेको जनाएको छ।
यति ठूलो लगानीका बाबजुद पनि हालैका दिनहरूमा अमेजन, मेटा, गुगल र माइक्रोसफ्टका सेयर मूल्य घटेका छन्। प्रविधि क्षेत्र समेटिएको एसएन्डपी ५०० सूचकांक पनि बिहीबार १ प्रतिशतभन्दा बढीले घट्दै जनवरीको अन्त्यमा पुगेको उच्चतम बिन्दुबाट ओरालो लागेको छ।

