काठमाण्डौ । अमेरिकी वाणिज्य विभागले भारतबाट आयात हुने सोलर प्यानल र सेलमा १२६ प्रतिशत प्रारम्भिक ड्युटी लगाएको छ। विभागले भारतले आफ्ना निर्माताहरूलाई गलत तरिकाले सब्सिडी दिँदै आएको जनाउँदै यसले अमेरिकी घरेलु कम्पनीहरूलाई आर्थिक नोक्सान पुर्याइरहेको जनाएको छ ।
भारतसहित लाओस र इन्डोनेसियामा पनि ८१ प्रतिशतदेखि १४३ प्रतिशतसम्मको लेवी लगाइएको छ। प्रारम्भिक जाँचको आधारमा यो निर्णय गरिएको हो। अन्तिम जाँचको नतिजा ६ जुलाईमा सार्वजनिक हुनेछ। यदि सब्सिडीको आरोप प्रमाणित हुन्छ भने ड्युटी स्थायी हुनेछ।
यस निर्णयले भारतीय सोलार निर्यातकर्ताहरूका लागि अमेरिकी बजारमा टिक्न गाह्रो हुनेछ। १२६ प्रतिशत ड्युटी लगाइएसँगै अमेरिकी बजारमा भारतीय प्यानलको मूल्य दोब्बर वा त्यसभन्दा बढी हुनेछ। यस कारण अमेरिकी खरिदकर्ताहरूले स्थानीय कम्पनी वा अन्य देशका प्यानलहरूलाई रोज्ने सम्भावना बढी छ।
यो ड्युटी ट्रम्पको हालै घोषणा गरिएको १० प्रतिशत ग्लोबल ट्यारिफभन्दा अलग छ। अमेरिकी सुप्रीम कोर्टले ट्रम्पको पुरानो ट्यारिफ योजना रद्द गरेपछि नयाँ ट्यारिफ लागु गरिएको हो।
ब्लूमबर्ग एनईएफका अनुसार २०२५ को पहिलो ६ महिनामा अमेरिका आउने कुल सोलर मोड्युल आयातको ५७ प्रतिशत भारत, इन्डोनेसिया र लाओसबाट आएको थियो।
अमेरिकी सोलर निर्माताहरूले चीनका कम्पनीहरूले अमेरिकी ट्यारिफबाट बच्न भारत, इन्डोनेसिया र लाओसमार्ग प्रयोग गर्दै आएको आरोप लगाएका छन्। पहिले चीनले भियतनाम, मलेशिया र थाइल्यान्ड प्रयोग गरेको थियो।

