काठमाण्डौ । मध्यपूर्वमा इजरायल र इरानबीचको तनाव प्रत्यक्ष सैन्य कारबाहीतर्फ मोडिँदै जाँदा त्यसको प्रभाव कतारसम्म फैलिएको छ। यही परिस्थितिलाई ध्यानमा राख्दै दोहास्थित नेपाली कूटनीतिक नियोगले कतारमा कार्यरत नेपाली श्रमिकका लागि उच्च सतर्कता अपनाउन ‘हाई अलर्ट’ जारी गरेको छ।
खाडी क्षेत्रका विभिन्न मुलुकमा रहेका अमेरिकी सैन्य अखडालाई लक्ष्य गरी इरानबाट मिसाइल प्रहारको चर्चा बाहिरिएपछि कतारमा बसोबास गरिरहेका करिब साढे तीन लाख नेपालीको सुरक्षाबारे चासो बढेको हो। यस पृष्ठभूमिमा दूतावासले शनिबार साँझ विशेष सूचना निकाल्दै स्थानीय सुरक्षा निकायका निर्देशन अक्षरशः पालना गर्न र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध गरेको छ।

दूतावासको अपिलमा मध्यपूर्वमा विकसित अस्थिर अवस्थाप्रति सजग रहन, कतारी प्रशासनबाट जारी हुने आधिकारिक सूचनामात्र विश्वास गर्न र अफवाहबाट टाढा रहन नेपाली समुदायलाई आग्रह गरिएको छ। सम्भव भएसम्म सुरक्षित आश्रयस्थलमै रहनु नै उपयुक्त हुने जनाइएको छ।
कतारमा मध्यपूर्वकै ठूलो अमेरिकी सैन्य अखडा ‘अल उदेइद’ अवस्थित रहेकाले सम्भावित जोखिमलाई ध्यानमा राखी कतारी सुरक्षा संयन्त्र उच्च तयारी अवस्थामा राखिएको छ। यसैबीच, कतार नागरिक उड्डयन प्राधिकरणले हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेपछि काठमाडौँ–दोहा मार्गका दैनिक सिधा उडानहरू अर्को सूचना नआएसम्मका लागि रोकिएका छन्।
स्थानीय सञ्चारमाध्यम गल्फ न्यूजका अनुसार, कतार सरकारले आपतकालीन अवस्थालाई मध्यनजर गर्दै खाद्यान्न तथा औषधिको सहज आपूर्ति सुनिश्चित गर्न विशेष आपूर्ति प्रणाली सक्रिय पारेको छ। साथै, सर्वसाधारणलाई अनावश्यक रूपमा भीडभाड नगर्न र शान्ति तथा संयम अपनाउन निर्देशन दिइएको छ।

