काठमाण्डौ । इरान र इजरायलबीच बढ्दो सैन्य तनावका बीच इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहूको मृत्यु भएको भन्ने हल्ला सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ। तर इजरायली प्रधानमन्त्रीको कार्यालयले यस्तो दाबीलाई पूर्ण रूपमा झुटो र भ्रामक समाचार भएको बताएको छ।
यसबीच इरानको शक्तिशाली सैन्य निकाय इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले कडा चेतावनी दिँदै यदि नेतन्याहू जीवित छन् भने “उनीहरूलाई खोजेर मार्ने” धम्की दिएको इरानी सरकारी समाचार संस्था IRNAले जनाएको छ। आईआरजीसीले नेतन्याहूलाई “बालबालिकाको हत्यारा” भन्दै कठोर शब्द प्रयोग गरेको छ।
दक्षिण अफ्रिकास्थित इरानी दूतावासले पनि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेतन्याहू जीवित भए पनि वा मरे पनि आफूहरूलाई फरक नपर्ने टिप्पणी गरेको छ। उक्त पोस्टमा इरानको मिनाब शहरमा भएको कथित आक्रमणमा मारिएका बालिकाहरूको प्रसंग उल्लेख गर्दै उनीहरूको एउटा कपाल पनि नेतन्याहूभन्दा धेरै मूल्यवान भएको भनिएको छ।
मिनाब आक्रमणपछि इरानमा आक्रोश
इरानी अधिकारीहरूका अनुसार युद्ध सुरु भएको प्रारम्भिक चरणमै दक्षिणी इरानको मिनाब शहरस्थित बालिका विद्यालयमा आक्रमण हुँदा १६० भन्दा बढी मानिसको मृत्यु भएको थियो। मृतकमध्ये छात्रा र विद्यालयका कर्मचारीसमेत रहेका थिए।
यस घटनापछि इरानभर ठूलो आक्रोश फैलिएको थियो र मृतक छात्राहरूको अन्त्येष्टिमा ठूलो संख्यामा नागरिक सहभागी भएका थिए।
नेतन्याहूको ‘मृत्यु’ हल्ला कसरी फैलियो ?
१३ मार्चमा नेतन्याहूको एक्स (ट्विटर) खाताबाट सार्वजनिक गरिएको एउटा भिडियोपछि सामाजिक सञ्जालमा नयाँ विवाद सुरु भयो। भिडियोमा उनले इरानसँग भइरहेको सैन्य परिस्थितिबारे जानकारी दिएका थिए।
तर केही प्रयोगकर्ताले उक्त भिडियो एआईद्वारा तयार गरिएको भन्दै नेतन्याहूको मृत्यु भइसकेको दाबी गरे।
यस विषयमा इजरायली प्रधानमन्त्री कार्यालयले टर्कीको समाचार संस्था अनादोलुसँग कुरा गर्दै भिडियो एआईद्वारा बनाइएको भन्ने दाबी पूर्ण रूपमा गलत भएको जनाएको छ। कार्यालयले नेतन्याहू सुरक्षित रहेको पनि स्पष्ट पारेको छ।
सामाजिक सञ्जालमा थप अड्कलबाजी
केही सामाजिक सञ्जाल प्रयोगकर्ताले नेतन्याहूका छोरा याएर नेतन्याहूको एक्स खातामा ९ मार्चपछि पोस्ट नआएको भन्दै परिवारमा कुनै ठूलो घटना भएको हुनसक्ने अनुमान गरेका थिए।
तर विभिन्न तथ्य जाँच तथा एआई च्याटबोटहरूको विश्लेषणले यस्तो दाबीलाई पनि आधारहीन भएको जनाएको छ। भिडियोमा देखिएको नेतन्याहूको हातमा “छ वटा औँला” जस्तो देखिनु पनि क्यामेराको कोण, गतिका कारण देखिने धुँवाधार दृश्य (motion blur) र फ्रेमको भ्रमका कारण भएको विशेषज्ञहरूले बताएका छन्।
युद्धकालमा गलत सूचना तीव्र फैलिने जोखिम
विशेषज्ञहरूका अनुसार भू–राजनीतिक द्वन्द्वको समयमा गलत सूचना र अफवाह छिटो फैलिने सम्भावना धेरै हुन्छ। सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले सत्यता पुष्टि नगरी सामग्री साझा गर्ने प्रवृत्तिले यस्तो भ्रम झन् बढाउने गर्छ।
हालसम्म नेतन्याहू बेपत्ता भएका वा इजरायल छोडेको कुनै विश्वसनीय संकेत देखिएको छैन। हालै सार्वजनिक भएका भिडियो र वक्तव्यहरूका आधारमा उनी अझै पनि देशलाई सम्बोधन गर्दै इजरायल र अमेरिकाको सैन्य रणनीतिसम्बन्धी छलफलमा सक्रिय रूपमा सहभागी भइरहेका छन्।
(बीबीसीबाट भावानुवाद गरिएको रिपोर्ट)

