काठमाण्डौ । मध्यपूर्वमा बढ्दो तनावबीच अमेरिकाले तयार पारेको १५ बुँदे युद्धविराम प्रस्ताव इरानले ठाडै अस्वीकार गरेको छ, जसले क्षेत्रीय द्वन्द्व झन् चर्किने संकेत दिएको छ। पाकिस्तानमार्फत तेहरानसम्म पुर्याइएको उक्त प्रस्तावलाई इरानले “अप्रासंगिक र हास्यास्पद” भन्दै वार्ताबाटै पछि हटेको छ।
पाकिस्तानी स्रोतका अनुसार प्रस्तावमा इरानमाथि लगाइएका आर्थिक प्रतिबन्धहरू क्रमशः हटाउने, नागरिक आणविक सहकार्य विस्तार गर्ने, आणविक कार्यक्रम सीमित गर्ने, मिसाइल विकासमा नियन्त्रण ल्याउने तथा हर्मुज जलडमरूमध्यमा जहाज आवतजावत सुनिश्चित गर्ने जस्ता महत्वपूर्ण बुँदाहरू समावेश थिए। तर तेहरानले कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष वार्तामा संलग्न नहुने स्पष्ट सन्देश दिएको छ।
इरानी सैन्य प्रवक्ताले अमेरिकी प्रयासमाथि कटाक्ष गर्दै “अमेरिका आफैंसँग मात्र वार्ता गरिरहेको” टिप्पणी गरेका छन्, जसले कूटनीतिक पहल पूर्णतः असफल भएको संकेत दिएको छ।
यसैबीच, द्वन्द्व मैदानमा गतिविधि तीव्र बन्दै गएको छ। अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति थप विस्तार गर्दै मेरिन फोर्सलाई समर्थन गर्न प्याराट्रुपरहरू परिचालन गरेको छ। जवाफमा इरानले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलसहित खाडी क्षेत्रका विभिन्न स्थानमा आक्रमण गर्दै बहरेन, कतारको अल उदेद एयरबेस, ओमान, साउदी अरेबिया, कुवेत र इराकस्थित अमेरिकी तथा गठबन्धनका सैन्य अड्डाहरूमा मिसाइल प्रहार गरेको जनाएको छ।
उता, अमेरिका र इजरायलले इरानका प्रमुख आणविक केन्द्रहरू( बुसहर, नातान्ज र फोर्डो)लाई लक्षित गरी आक्रमण गरेका छन्। इरानले भने रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलडमरूमध्यमा आफ्नो नियन्त्रण मजबुत बनाएको दाबी गर्दै विश्व तेल आपूर्तिमा दबाब सिर्जना गरेको छ। उक्त जलमार्गबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने भएकाले यसको अवरोधले विश्व ऊर्जा बजारमा गम्भीर असर पार्न सक्ने चिन्ता बढेको छ।
यो द्वन्द्व गत फेब्रुअरी २८ मा अमेरिका–इजरायलको संयुक्त सैन्य कारबाहीपछि सुरु भएको हो, जसले अहिले पूर्ण क्षेत्रीय संकटको रूप लिँदै गएको छ। पाकिस्तानले मध्यस्थताको प्रयास गरे पनि इरानको कडा अडानका कारण शान्ति सम्भावना कमजोर बन्दै गएको विश्लेषण गरिएको छ।
तेल बजारमा अस्थिरता बढ्दै गएको छ भने विश्वव्यापी ऊर्जा संकटको खतरा तीव्र रूपमा बढिरहेको छ। विश्लेषकहरूले आगामी दिनहरूमा स्थिति अझ जटिल र खतरनाक बन्न सक्ने चेतावनी दिएका छन्।

