काठमाण्डौ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भित्र इन्टरनेट सेवा सुधारलाई सरकारको प्राथमिकतामा राख्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल पूर्वाधार सुदृढीकरण अभियानलाई तीव्रता दिएको छ। सेवा प्रवाहलाई छिटो, विश्वसनीय र अवरोधरहित बनाउने लक्ष्यसहित मन्त्रालयले सम्बन्धित निकायहरूलाई समन्वयात्मक रूपमा अघि बढ्न निर्देशन दिएको हो।
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना ले सिंहदरबारभित्रका सबै सरकारी निकायमा उच्च गुणस्तरको इन्टरनेट सेवा सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै कुनै पनि अवस्थामा सेवा अवरुद्ध हुन नहुने स्पष्ट पारेका छन्। उनले सेवा प्रदायक, प्राविधिक निकाय र प्रशासनिक संयन्त्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको औंल्याए।
हालको अवस्थाबारे जानकारी दिँदै एकीकृत डाटा व्यवस्थापन केन्द्रले केही कार्यालयहरूमा इन्टरनेट सुस्त हुने तथा कहिलेकाहीँ सेवा विच्छेद हुने समस्या रहेको स्वीकार गरेको छ। केन्द्रका अनुसार यस्ता समस्या मुख्यतः अप्टिकल फाइबरमा आउने अवरोध, विशेषगरी सडक तथा अन्य पूर्वाधार निर्माणका क्रममा हुने क्षतिका कारण उत्पन्न हुने गरेका छन्।
यस चुनौतीलाई सम्बोधन गर्न मन्त्रालयले दीर्घकालीन समाधानका रूपमा अप्टिकल फाइबरलाई भूमिगत रूपमा व्यवस्थित बिछ्याउने, वैकल्पिक (ब्याकअप) नेटवर्क प्रणालीलाई सुदृढ बनाउने तथा जोखिम पहिचान गरी पूर्वतयारी प्रणाली विकास गर्ने रणनीति अघि सारेको छ। साथै नेपाल टेलिकम मार्फत दक्ष प्राविधिक टोली परिचालन गरी आकस्मिक समस्या समाधान गर्ने व्यवस्था मिलाइने जनाइएको छ।
हाल सिंहदरबार परिसरमा १ जिबिपिएस क्षमताको ब्रोडब्यान्ड सेवा सञ्चालनमा रहेको छ भने ‘जी–क्लाउड’ सञ्चालनका लागि २५० एमबिपिएस अतिरिक्त क्षमता प्रयोग भइरहेको छ। यद्यपि आन्तरिक नेटवर्क तथा सर्भर व्यवस्थापन सम्बन्धित निकायहरूको जिम्मामा रहने भएकाले प्रत्येक मन्त्रालयमा दक्ष सूचना प्रविधि जनशक्ति व्यवस्थापन अपरिहार्य देखिएको छ।

