काठमाण्डौ । विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पल इंकमा शीर्ष नेतृत्व परिवर्तन हुने भएको छ। हालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले आफ्नो पदबाट राजीनामा दिँदै आगामी सेप्टेम्बर १ देखि कम्पनीको कार्यकारी अध्यक्षको भूमिका सम्हाल्ने तयारीमा छन्।
एप्पलका हालका सीनियर भाइस प्रेसिडेन्ट (हार्डवेयर इन्जिनियरिङ) जोन टर्नसलाई नयाँ सीईओको रूपमा नियुक्त गर्ने योजना रहेको छ।
टर्नस सन् २००१ मा एप्पलको प्रोडक्ट डिजाइन टोलीमा आवद्ध भएका थिए र २०१३ मा हार्डवेयर इन्जिनियरिङका भाइस प्रेसिडेन्ट बनेका थिए। सन् २०२१ देखि उनी कम्पनीको कार्यकारी नेतृत्व टोलीमा समावेश छन्।
टिम कुकले स्टिभ जब्सपछि सन् २०११ मा एप्पलको सीईओ पद सम्हालेका थिए।
उनको नेतृत्वमा कम्पनीले उल्लेखनीय व्यावसायिक सफलता हासिल गरेको छ। प्रस्तावित नयाँ भूमिकामा उनी विश्वव्यापी नीतिनिर्माताहरूसँग समन्वय तथा रणनीतिक मार्गदर्शनमा केन्द्रित रहने बताइएको छ।

