काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । मंगलबारको कारोबारमा सुनको मूल्य ०.२२ प्रतिशत अर्थात १०.१२ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस ४जार ६६९ डलर कायम भएको छ । लगानीकर्ताहरूले अमेरिका र इरानबीच रोकिएको शान्ति वार्ताबारे थप स्पष्टता तथा प्रमुख केन्द्रीय बैंकहरूको नीतिगत निर्णयको प्रतीक्षा गरिरहेका छन्।
विश्लेषकहरूका अनुसार हाल सुनको मूल्यमा मुख्य प्रभाव भू–राजनीतिक घटनाक्रमले पारेको छ। यदि अमेरिका–इरानबीच कुनै प्रकारको सम्झौता वा अन्तरिम सहमति भएमा अमेरिकी डलर कमजोर हुन सक्ने र त्यसले सुनको मूल्यमा उकालो लाग्ने सम्भावना रहेको बताइएको छ।
यता, अमेरिकी डलर केही मजबुत बनेको तथा कच्चा तेलको मूल्य बढ्दै गएको कारण सुनमा दबाब परेको छ। विशेषगरी महत्त्वपूर्ण समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ आंशिक रूपमा अवरुद्ध रहँदा तेल आपूर्तिमा असर परेको छ, जसले मुद्रास्फीति बढाउने जोखिम बढाएको छ। उच्च मुद्रास्फीतिले ब्याजदर बढाउने सम्भावना बढाउँछ, जसले सुनजस्ता गैर–ब्याज आम्दानी दिने सम्पत्तिप्रति आकर्षण घटाउँछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पछिल्लो प्रस्तावप्रति असन्तुष्टि जनाएको खबरले द्वन्द्व समाधानको सम्भावना कमजोर बनाएको छ। यसले ऊर्जा आपूर्ति प्रभावित हुनुका साथै विश्व अर्थतन्त्रमा अनिश्चितता थपेको छ।
यसैबीच फेडरल रिजर्भले आफ्नो दुई दिने बैठकपछि ब्याजदर यथावत राख्ने अपेक्षा गरिएको छ। विश्लेषकहरूले भने आगामी चौथो त्रैमासमा विश्वव्यापी आर्थिक मन्दीको संकेत देखिएसँगै ब्याजदर कटौती हुन सक्ने आकलन गरेका छन्।

