काठमाण्डौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले सरकारविरुद्ध असन्तुष्टि जनाउँदै रोस्ट्रम अगाडि पुगेर पर्चा प्रदर्शन गरेका छन् ।
बैठक शुरु हुनेबित्तिकै उनीहरू सभामुख डोलप्रसाद अर्यालको आसन नजिक पुगेर नारासहितका पर्चा देखाउँदै केही समय सदनमा अवरोधजस्तै वातावरण सिर्जना गरेका थिए ।
पार्टीका नेता हर्क साम्पाङसहितका सांसदहरू रोस्ट्रम वरिपरि भेला भएर सरकारविरुद्ध नाराबाजी गर्दै पर्चा प्रदर्शन गरेपछि केही मिनेटमै आफ्नो आसनमा फर्किएका थिए ।
करिब आधा मिनेटसम्म चलेको उक्त प्रदर्शनपछि उनीहरूले पर्चा छातीमा टाँसेरै बैठकमा पुनः सहभागिता जनाएका थिए ।
प्रदर्शनका क्रममा देखाइएका पर्चामा सरकार र प्रधानमन्त्रीप्रति लक्षित विभिन्न राजनीतिक सन्देश लेखिएका थिए ।
तीमध्ये “प्रधानमन्त्री संसदप्रति जबाफदेही बन्नै पर्छ”, “प्रश्नबाट भाग्न पाइँदैन”, “जनमतको सम्मान गर”, “संसद छलेर अध्यादेश ल्याउन बन्द गर” र “संसदीय जिम्मेवारी बहन गर” जस्ता नारा उल्लेख थिए ।
यसअघि पनि उक्त पार्टीले संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलपछि प्रधानमन्त्रीले जवाफ नदिएको भन्दै बैठक बहिष्कार गरेको थियो ।
तर, आज भने बहिष्कारको सट्टा प्रत्यक्ष पर्चा प्रदर्शनमार्फत विरोध जनाइएको हो ।
सांसदहरूले प्रधानमन्त्री संसदप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्ने माग दोहोर्याउँदै कार्यपालिका र व्यवस्थापिका बीचको सन्तुलन कमजोर बनाउने कुनै पनि अभ्यास स्वीकार्य नहुने बताएका छन् ।
उनीहरूको भनाइमा संसद छल्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रवृत्ति लोकतान्त्रिक अभ्यासविपरीत रहेको छ ।
सभामुख डोलप्रसाद अर्यालले भने बैठक सञ्चालनका क्रममा सांसदहरूलाई संसदीय मर्यादा कायम राख्दै विरोधका कार्यक्रम अघि बढाउन आग्रह गरेका छन् ।
उनले सदनको गरिमा, अनुशासन र कार्यक्षमता सबै सांसदहरूको सामूहिक जिम्मेवारी भएको बताएका छन् ।

