काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि यसअघि प्रस्ताव गरिएको लाभांश पूर्ण रूपमा रद्द गर्दै गत आवका लागि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
संस्थाको ११४औं सञ्चालक समितिको बैठकले यसअघि कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । जसमा ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश रहेको थियो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट अनुमोदनपछि मात्र वितरण हुने शर्तसहित सार्वजनिक गरिएको थियो।
तर, पछिल्ला वित्तीय समायोजन, नियामकीय व्यवस्था तथा वित्तीय सूचकहरू सुधार गर्ने आवश्यकताका कारण उक्त प्रस्तावित लाभांश कायम राख्न नसकिने अवस्था सिर्जना भएको संस्थाले जनाएको छ।
यसै सन्दर्भमा गत जेठ ८ गते बसेको संस्थाको ११७ औं सञ्चालक समितिको बैठकले पूर्व प्रस्तावित लाभांश परिमार्जन गर्दै आर्थिक वर्ष २०८१/८२ का लागि बोनस सेयर तथा नगद लाभांश दुवै नदिने निर्णय गरेको हो।
संस्थाले यस निर्णयलाई नियामक मापदण्ड, दीर्घकालीन वित्तीय स्थायित्व तथा संस्थागत सुदृढीकरणलाई ध्यानमा राखेर गरिएको बाध्यात्मक कदमका रूपमा उल्लेख गरेको छ।
लाभांश नदिने निर्णयपछि से्यरधनी, लगानीकर्ता तथा सरोकारवालामा परेको अपेक्षा र असुविधाप्रति संस्थाले दुःख व्यक्त गर्दै आगामी दिनमा संस्थाको सुदृढ वित्तीय अवस्था सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ। संस्थाको दीर्घकालीन व्यावसायिक स्थायित्व र हितका लागि चालिएको यस बाध्यात्मक कदमलाई सकारात्मक रूपमा लिइदिन सम्पूर्ण सरोकारवालाहरूमा आग्रह समेत गरेको छ ।

