काठमाण्डौं । अब कक्षा–५ सम्मका विद्यार्थीको मूल्यांकन गर्ने तरिका पूर्ण रूपमा बदलिने भएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालय ले नयाँ शैक्षिक सत्रदेखि कक्षा ५ सम्म परम्परागत लिखित परीक्षा हटाएर निरन्तर आन्तरिक मूल्यांकन प्रणाली लागू गर्ने निर्णय कार्यान्वयनमा ल्याएको हो ।
यससँगै अब कक्षा ५ सम्म त्रैमासिक, अर्धवार्षिक वा वार्षिक परीक्षा सञ्चालन गरिने छैन ।
सरकारले सानो उमेरमै परीक्षा केन्द्रित दबाब बढ्दा बालबालिकाको मानसिक स्वास्थ्य र सिर्जनात्मक सिकाइ प्रभावित भएको निष्कर्ष निकाल्दै नयाँ प्रणाली लागू गरेको जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार विद्यार्थीको मूल्यांकन अब केवल उत्तरपुस्तिकामा सीमित रहने छैन ।
कक्षामा सहभागिता, व्यवहार, परियोजना कार्य, मौखिक प्रस्तुति, सिर्जनात्मक क्षमता, गृहकार्य तथा दैनिक सिकाइ प्रक्रियालाई आधार बनाएर मूल्यांकन गरिनेछ ।
पाठ्यक्रम विकास केन्द्र ले यसका लागि ‘विद्यार्थी मूल्यांकन मार्गदर्शन–२०८३’ लागू गरिसकेको छ ।
विद्यालय शिक्षा महाशाखाका सहसचिव रूद्रप्रसाद अधिकारीका अनुसार अब विद्यार्थीलाई परीक्षा होइन, सिकाइ उपलब्धि र व्यवहारगत प्रगतिका आधारमा माथिल्लो कक्षामा स्तरोन्नति गरिनेछ ।
उनका अनुसार यसले बालमैत्री, दबाबमुक्त र व्यवहारिक शिक्षा प्रणाली विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नयाँ मूल्यांकन प्रणालीमा कक्षागत उपस्थिति, लिखित तथा मौखिक कार्य, परियोजना, व्यवहार अवलोकन, स्व–मूल्यांकन, सहपाठी मूल्यांकन तथा अभिभावकको प्रतिक्रियालाई समेत समावेश गरिनेछ ।
यसअघि कक्षा १ देखि ३ सम्म लागू गरिएको शतप्रतिशत आन्तरिक मूल्यांकन प्रणाली अब कक्षा ४ र ५ सम्म विस्तार गरिएको हो ।
सरकारले यसलाई शिक्षालाई ‘परीक्षामुखी’ भन्दा ‘सिकाइमुखी’ बनाउने प्रयासका रूपमा प्रस्तुत गरेको छ ।
यद्यपि शिक्षा क्षेत्रका केही सरोकारवालाले परीक्षा हटाउँदा विद्यार्थीको प्रतिस्पर्धात्मक क्षमता र सिकाइ गुणस्तरमा असर पर्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
अर्कोतर्फ बाल मनोविज्ञानका जानकारहरूले भने सानो उमेरमा परीक्षा तनाव घट्नु सकारात्मक कदम भएको बताएका छन् ।
नयाँ व्यवस्थाअनुसार विद्यार्थीको सिकाइ उपलब्धिलाई ‘आधारभूतभन्दा कम’, ‘आधारभूत’, ‘दक्ष’ र ‘उच्च’ गरी वर्गीकरण गरिनेछ ।
अपांगता भएका विद्यार्थीका लागि पनि फरक मूल्यांकन विधि अपनाइने मन्त्रालयले जनाएको छ ।

