काठमाण्डौ । बुधबार एशियाली सेयर बजारहरूले ऐतिहासिक उचाइ छुँदै वृद्धिको संकेत देखाएका छन् । यद्यपी मध्यपूर्वमा अमेरिका–इरानबीचको नाजुक युद्धविरामलाई लिएर बढ्दो अनिश्चितताका बीच तेलको मूल्य उच्च स्तरमै कायम रहेको छ।
एशियामा व्यापक रूपमा लगानीकर्ताको मनोबल बलियो देखिएको छ। जापानको सेयर बजार मापक निक्की२२५ इन्डेक्स पहिलो पटक ६६ हजार विन्दुमाथि पुगेको छ भने दक्षिण कोरियाको कोस्पी ४ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। विशेषगरी सेमिकन्डक्टर तथा प्रविधि कम्पनीहरूमा देखिएको उत्साहले बजार बढ्न सहयोग पुर्याएको विश्लेषकहरूले बताएका छन्। सामसुङ इलेक्ट्रोनिक्समा श्रमिक र व्यवस्थापनबीच भएको तलब सम्झौताले हड्तालको जोखिम घटाएपछि बजारमा सकारात्मक प्रभाव परेको समेत जनाइएको छ ।
विश्व बजारमा प्रविधि सेयरहरूको मजबुत प्रदर्शन र अमेरिकी सेयर बजारमा देखिएको रेकर्ड वृद्धिले एशियाली बजारलाई पनि फाइदा पुर्याएको छ ।
तर, लगानीकर्ताहरूको ध्यान मध्यपूर्वमा केन्द्रित छ। अमेरिका र इरानबीच जारी तनावपूर्ण युद्धविरामलाई लिएर दुवै पक्षबाट आरोप–प्रत्यारोप भइरहेकाले ऊर्जा आपूर्तिमा जोखिम कायम छ। यसले तेल बजारलाई उच्च मूल्यमा स्थिर राखेको छ। कच्चा तेलको मूल्य उच्च रहँदा विश्वव्यापी मुद्रास्फीतिमा थप चाप पर्न सक्ने अनुमान गरिएको छ।
मुद्रा बजारमा अमेरिकी डलर बलियो देखिएको छ। न्यूजिल्याण्डको केन्द्रीय बैंक रिजर्भ बैंक अफ न्यूजिल्याण्डले ब्याजदर यथावत राख्दै भविष्यमा दर वृद्धि छिटो हुन सक्ने संकेत दिएपछि न्यूजिल्याण्ड डलर मजबुत बनेको छ। अष्ट्रेलियामा अपेक्षाभन्दा कमजोर मुद्रास्फीतिले अष्ट्रेलियन डलरमा हल्का गिरावट देखिएको छ।

