काठमाण्डौ । टेस्लाको ‘फुल सेल्फ ड्राइभिङ’ प्रविधिलाई लिएर फेरि गम्भीर प्रश्न उठेका छन्। एक अनुसन्धानात्मक रिपोर्टअनुसार टेस्लामा काम गर्ने पूर्व कर्मचारी, डेटा लेबलर तथा स्वचालित सवारी सुरक्षाविज्ञहरूले कम्पनीले दाबी गरेजस्तो प्रविधि सुरक्षित र पूर्ण स्वायत्त नभएको बताएका छन्।
रिपोर्टअनुसार अमेरिकाको युटाहस्थित कार्यालयमा कार्यरत सयौं ‘डेटा लेबलर’हरूले टेस्लाका गाडीबाट संकलित भिडियो परीक्षण गर्दै आएका छन्। ती भिडियोहरूमा गाडीले बिरालो, कुकुर तथा हरिणजस्ता जनावरलाई ठक्कर दिएको, स्कुल बस रोकिँदा नरोकेको तथा आपतकालीन सवारी साधनलाई सही तरिकाले बाटो नदिएको घटनाहरू देखिएको उल्लेख गरिएको छ। कतिपय अवस्थामा गाडीले बच्चाहरू नजिक हुँदा पनि ब्रेक लगाउन ढिलाइ गरेको पूर्व कर्मचारीहरूले बताएका छन्।
टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले एफईडी प्रविधि मानव चालकभन्दा १० गुणा सुरक्षित भएको दाबी गर्दै आएका छन्। तर रोयटर्सको अनुसन्धानले कम्पनीले प्रयोग गरेको सुरक्षा तथ्यांक तुलना गर्ने विधिमै कमजोरी रहेको जनाएको छ। अनुसन्धानमा संलग्न विज्ञहरूका अनुसार टेस्लाले आफ्ना गाडीको गम्भीर दुर्घटनालाई संघीय स्तरका सामान्य दुर्घटना तथ्यांकसँग तुलना गरेर सुरक्षा दर बढाइचढाइ गरेको देखिएको छ।
कार्नेगी मेलोन विश्वविद्यालयका स्वचालित सवारी सुरक्षाविज्ञ फिल कुपम्यानले ‘नयाँ गाडी पुराना गाडीभन्दा सुरक्षित हुनु स्वाभाविक हो, त्यसलाई आधार बनाएर प्रविधि अत्यन्त सुरक्षित छ भन्न मिल्दैन’ भन्ने टिप्पणी गरेका छन्।
यसैबीच अमेरिकी राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासनले टेस्लाको एफएसडी प्रणालीमाथि अनुसन्धानलाई थप विस्तार गरेको छ। कमजोर दृश्यता भएका अवस्थामा प्रणालीले सही प्रतिक्रिया दिन नसकेको आशंकामा करिब ३२ लाख टेस्ला गाडीमाथि छानबिन भइरहेको जनाइएको छ।
रोयटर्सका अनुसार टेस्लाले अस्टिन र अन्य शहरमा सञ्चालन गरेको ‘रोबोट्याक्सी’ सेवामा समेत सीमित क्षेत्रलाई विस्तृत रूपमा म्यापिङ गरी परीक्षण गरिएको थियो। यसले इलोन मस्कले दाबी गरेजस्तो ‘जहाँसुकै चल्न सक्ने’ पूर्ण स्वचालित प्रविधि अझै व्यवहारमा लागू नभइसकेको संकेत दिएको विश्लेषण गरिएको छ।
यस विषयमा कम्पनीले औपचारिक प्रतिक्रिया दिएको छैन। कम्पनीको वेबसाइटमा अझै पनि ‘हाल उपलब्ध सुविधा पूर्ण स्वायत्त होइन र चालकको सक्रिय निगरानी आवश्यक पर्छ’ भन्ने चेतावनी राखिएको छ।

