काठमाण्डौ । विश्व बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ। अमेरिकी–इरान युद्धविरामसम्बन्धी सम्भावित सम्झौताको मूल्यांकननसँगै लगानीकर्ताहरू सतर्क अवस्थामा रहेकाले सुनको मूल्य केही बढेको छ ।
आज सुनको मूल्य ०.१९ प्रतिशतले बढ्दै प्रतिऔंस ४ हजार ५०९ डलर पुगेको छ। तर साप्ताहिक आधारमा भने सुनको मूल्य करिब ०.२ प्रतिशतले घटेको देखिन्छ।
यसअघि बिहीबार सुनको मूल्य दुई महिनाको न्यून स्तरमा पुगेपछि पुनः केही सुधार देखिएको थियो। बजार विश्लेषकहरूका अनुसार युद्धविरामसम्बन्धी खबरले सुरक्षात्मक मागमा तत्काल प्रभाव पारेको हो।
अमेरिका र इरानबीच अस्थायी युद्धविराम विस्तार तथा स्ट्रेट अफ हर्मुज हुँदै हुने ढुवानीमा सहजता ल्याउने सम्झौताको चर्चा बजारमा प्रमुख कारण बनेको छ। यद्यपि, सम्झौता अझै अन्तिम रूप लिएको छैन र औपचारिक स्वीकृति बाँकी रहेको बताइएको छ।
त्यसैबीच, अमेरिकामा मुद्रास्फीति तीन वर्षयताकै उच्च गतिमा बढेको तथ्यले फेडरल रिजर्भले ब्याजदर लामो समयसम्म स्थिर राख्ने अपेक्षा बलियो बनाएको छ। यसले सुन जस्ता ब्याज नदिने सम्पत्तिमा दबाब सिर्जना गरिरहेको विश्लेषकहरूको भनाइ छ।

