काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागमा सरदरभन्दा दक्षिणतर्फ र पश्चिमी भू–भागमा सरदर स्थान आसपास रहेको छ।
देशभरको मौसममा बादलको प्रभाव व्यापक रूपमा देखिएको छ। कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा सामान्यतया बादल लागेको छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा पनि आंशिकदेखि सामान्य बादलको अवस्था रहेको विभागले जनाएको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागहरूमा सामान्यतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि बादल रहने सम्भावना छ। कोशी, मधेश र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिक बादल रहने अनुमान गरिएको छ।
त्यस्तै, हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना समेत रहेको विभागले जनाएको छ। साथै, मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि छ।
आज राति देशभर सामान्यतया बादल लाग्नेछ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।
कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा, मधेश प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू–भाग र बागमती प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
त्यसैगरी, कोशी र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विभागले सम्भावित भारी वर्षा, चट्याङ र हावाहुरीका कारण सतर्क रहन सबै नागरिकलाई आग्रह गरेको छ।

