काठमाण्डौ । सोमबार अन्तर्राष्ट्रिय तेल बजारमा कच्चा तेलको मूल्यमा हल्का गिरावट देखिएको छ। प्रमुख उत्पादक राष्ट्रहरूको समूह ओपेक प्लसले अगस्टदेखि उत्पादन लक्ष्य बढाउने निर्णय गरेपछि बजारमा आपूर्तिको सम्भावित वृद्धि हुने अपेक्षाले मूल्यमा दबाब परेको हो। साथै, खाडी हुँदै हुने तेल निर्यात क्रमशः पुनः सुधार हुँदै गएको संकेतले पनि आपूर्ति वृद्धि हुने अनुमान गरिएको छ।
आज ब्रेन्ट क्रुडको मूल्य ०.४३ प्रतिशतले घटेर प्रतिब्यारेल ७१.८१ मा सीमित बनेको छ । यस्तै डब्लूटीआई क्रुडको मूल्यपनि ०.२८ प्रतिशतले ओरालो लाग्दै प्रतिब्यारेल ६८.५० डलरमा झरेको छ ।
ओपेकले अगस्टदेखि दैनिक १ लाख ८८ हजार ब्यारेल उत्पादन वृद्धि गर्ने सहमति गरेको छ। यो वृद्धि पछिल्ला केही महिनामा गरिएको समान विस्तारपछि आएको हो । यद्यपि वास्तविक उत्पादन अझै युद्ध र आपूर्ति अवरोधका कारण पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन।
विश्लेषकहरूका अनुसार फारस खाडी र हर्मुज जलमार्गबाट तेल ढुवानी पुनः सुरु हुँदै गएपछि विश्व बजारमा आपूर्ति बढ्ने अपेक्षा गरिएको छ। तर भू–राजनीतिक तनाव र मागमा अस्थिरताका कारण बजार अझै अनिश्चित रहेको बताइएको छ।

