काठमाण्डौ । मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ।
प्रदर्शनमा मुगुवासी, राइड–सेयरिङ चालक तथा जेनजी युवाहरू सहभागी थिए। उनीहरूले नेपालीको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन गरी जिम्मेवार व्यक्तिमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्। गणेश नेपालीको न्यायको माग गर्दै यसअघि पनि माइतीघरमा प्रदर्शन भएको थियो।
प्रदर्शनकारीहरूले ‘राज्य आतङ्क मुर्दावाद’, ‘गरिब र युवाले न्याय पाउनुपर्छ’ र ‘घटनाका दोषीलाई कारबाही गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
माइतीघरमा प्रदर्शन गरेपछि उनीहरू वीर अस्पतालतर्फ अघि बढेका थिए। तर प्रहरीले प्रदर्शनकारीलाई भद्रकाली क्षेत्रमा रोकेको थियो।
त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार भएको घटनामा गम्भीर घाइते भएका नेपालीको वीर अस्पतालमा उपचार भइरहेको थियो। सरकारले उनको सम्पूर्ण उपचार खर्च बेहोर्ने र थप उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी गरेको जनाएको थियो।
उनको शुक्रबार बिहान उपचारका क्रममा निधन भएको हो।

