काठमाण्डौ । अविरल वर्षाका कारण कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ बस्दै आएका ३१ परिवारका ८९ जना सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ।
शनिबार र आइतबार बिहान गरी उनीहरूलाई कीर्तिपुरबाट खरिपाटी पुर्याइएको हो। केही परिवारलाई भने भक्तपुरकै बोडे क्षेत्रमा सारिएको छ।
सरकारले यसअघि थापाथलीसहित बागमती नदी किनारका विभिन्न स्थानमा रहेका सुकुमवासी बस्ती हटाएर उनीहरूलाई कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा राखेको थियो। तर निरन्तरको वर्षापछि उक्त केन्द्रमै डुबान हुँदा उनीहरू पुनः विस्थापित भएका हुन्।
अस्थायी रूपमा एक स्थानबाट अर्को स्थानमा सारिए पनि विस्थापित परिवारको स्थायी बसोबास र दीर्घकालीन व्यवस्थापनको विषय अझै टुंगिन सकेको छैन।

