काठमाण्डौ । मेची राजमार्गअन्तर्गत इलाम खण्डको जीर्ण अवस्थाले पूर्वी पहाडको आर्थिक गतिविधिमा गम्भीर असर परेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले तत्काल सडक सुधार र स्तरोन्नतिको माग गरेको छ।
महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै इलाम, पाँचथर र ताप्लेजुङलाई जोड्ने मेची राजमार्ग कोशी प्रदेशको व्यापार, पर्यटन, कृषि तथा समग्र आर्थिक विकासको महत्वपूर्ण आधार रहेको उल्लेख गरेको छ। सडकको खराब अवस्थाका कारण उद्योग–व्यवसाय प्रभावित हुनुका साथै ढुवानी लागत बढेको, पर्यटक आगमन घटेको र कृषि उत्पादन बजारसम्म पुर्याउन समस्या भएको महासंघको भनाइ छ।
महासंघका अनुसार चिया, अलैंची, अदुवा, दूध, फलफूल तथा तरकारीलगायतका कृषि उपज समयमै बजारसम्म पुर्याउन नसक्दा किसान र व्यवसायी दुवैले आर्थिक क्षति व्यहोर्नुपरेको छ।
सडक सुधारका लागि पटक–पटक प्रतिबद्धता व्यक्त भए पनि अपेक्षित प्रगति हुन नसकेको भन्दै महासंघले सरकारको ध्यानाकर्षण गराएको छ। लामो समयदेखि कायम रहेको सडकको दुरावस्था निजी क्षेत्र, कृषक र सर्वसाधारणका लागि गम्भीर समस्या बनेको महासंघको भनाइ छ।
महासंघ कोशी प्रदेशले नेपाल सरकारसँग मेची राजमार्गसहित इलाम–पाँचथर–ताप्लेजुङ सडक सञ्जालको निर्माण तथा स्तरोन्नतिलाई उच्च प्राथमिकतामा राखी आवश्यक बजेट, स्रोत–साधन र जनशक्ति परिचालन गर्न माग गरेको छ।
पूर्वी पहाडको आर्थिक जीवनसँग प्रत्यक्ष जोडिएको यस सडक सञ्जाल सुधारका लागि अब आश्वासनभन्दा पनि परिणाम देखिने गरी काम गर्नुपर्ने महासंघले जनाएको छ।

