काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ९.३२ अंकले बढेर २११२.२९ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३१३ कम्पनीको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज विकास बैंक र फाइनान्स उपसूचक मात्रै चम्किएका छन् भने बाँकी सबै समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.५१ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.८२ प्रतिशतले घटेको छ । बीमा कम्पनीहरुमा आज ५ वटा कम्पनीको मात्रै सेयरमूल्य बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरमूल्य १.१३ प्रतिशतले बढेर ८०४ रुपैयाँ पुगेको छ ।
त्यस्तै, नेपाल लाइफको ०.९७ प्रतिशत, सिटिजन लाइफको ०.२९ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.१४ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ०.०४ प्रतिशतले सेयरमूल्य बढेको छ । आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा सन नेपाल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.०६ प्रतिशतले घटेर ४७५ रुपैयाँ कायम भएको छ ।
यसका साथै नेशनल लाइफको १.९४ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.८८ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको १.८५ प्रतिशत, सानिमा जिआइसीको १.७९ प्रतिशत, युनाइटेड अजोडको १.७७ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको १.४७ प्रतिशत, एनएलजी इन्स्योरेन्सको १.४२ प्रतिशत, सुर्यज्योति लाइफको १.४१ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.४० प्रतिशत, नेपाल रि इन्स्योरेन्सको १.३२ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.३० प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.१३ प्रतिशत, हिमालयन लाइफको १.०३ प्रतिशत, आइएमई लाइफको ०.८७ प्रतिशत, आरबीसीएलको ०.७५ प्रतिशत, एशियन लाइफको ०.६७ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.५५ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.४९ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२५ प्रतिशत र एलआइसी नेपालको ०.१५ प्रतिशतले सेयरभाउ घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                