काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक ४.४१ प्रतिशत अर्थात ११३.४२ अंकले बढेर २ हजार ६८१.५६ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५.८२ प्रतिशतले बढेर ४८६.८४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयर १५ अर्ब ८१ करोड ५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज नेप्से परिसूचकमा दुईपटक अपर सर्किट लागेको थियो ।
आजको बजारबारे सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेल भन्छन्, ‘ आज २–३ वटा कारणले बजारमा उछाल आएको छ । पहिलो भनेको दुई ठूला दल मिलेर स्थायी सरकारको गठन हुनु, सेयरबजारमैत्री अर्थमन्त्री आउनु र मौद्रिक नीति सकारात्मक आउनुले सेयर बजारमा उछाल आएको हो ।’
फुल्लेलका अनुसार बैंकमा रहेको अधिक तरलता र घट्दो ब्याजदरसँगै इन्ट्रा डे करेक्सन भएर सेयर बजारले गति लिएको देखिन्छ ।
अर्का बजार जानकार उपेन्द्र पाठकको विचारमा पनि यसअघि राष्ट्र बैंकको नीतिको चेपुवामा पर्दै आएको सेयर बजार क्रमशः नीतिगत सुधार हुँदै गएपछि सेयर बजारमा उत्साह बढेको छ । ‘सरकारले अहिले मौद्रिक नीतिमा बैंकिङ क्षेत्रलाई सहज हुनेगरी नीतिगत व्यवस्था गरेका कारण आज बैंकिङ क्षेत्रमा उछाल आएको छ । अबको २–४ महिनामा नै लाभांश खान पाइनेका कारण र सेयर धितो कर्जा पनि सहज रुपमा पाइने भएका कारण पनि बैंकिङ क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेको छ ।’
अहिले सस्तो मूल्यमा रहेका बैंकहरुको सेयरमूल्य बढेतापनि बैंकहरुको वित्तीय प्रतिवेदन आएपछि भने राम्रा कम्पनीको सेयरमूल्यले गति लिने पाठकले बताए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज बैंकिङ समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ९.८९ प्रतिशतले बढेर १ हजार ५७४ विन्दुमा पुग्यो ।
यस्तै आज विकास बैंक समूह ४.८७ प्रतिशत, वित्त १.२९ प्रतिशत, होटल ०.४६, हाईड्रो ०.८३, लगानी ५.७५,जीवन बीमा ४.२४, उत्पादन तथा प्रशोधन १.७२, म्युचुअल फण्ड १.३८ ,निर्जीवन बीमा २.६८,अन्य ३.१९ र व्यापार समूह २.६२ प्रतिशतले बढ्यो ।
आज लघुवित्त समूहमा मात्रै रातो पोतियो । यो समूह आज ०.१८ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन कुमारी बैंकको सर्वाधिक सेयर कारोबार भयो । आज कुमारी बैंकको ३६ करोड १० लाख बढीको सेयर कारोबार भयो । यस्तै एनआईसी एशिया बैंकको ३४ करोड ८१ लाख,हिमालयन रि इन्स्योरेन्सको ३२ करोड २४ लाख,शिवम् सिमेन्टको ३२ करोड २२ लाख र हाथवे इन्भेष्टमेन्टको २७ करोड ९७ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका २२ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, सानिमा बैंक, एनएमबी बैंक, प्रभु बैंक, ग्लोबल आइएमई, सिटिजन्स बैंक, प्राइम ककमर्सियल बैंक, कृषि विकास बैंक, नेपाल बैंक, उपकार लघुवित्त, हाथवे इन्भेष्टमेन्ट, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, एनआईशी एशिया बैंक, नबिल बैंक, हिमालयन बैंक, निफ्रा,माछापुच्छ्र्रे बैंक, सिद्धार्थ बैंक र एशियन हाईड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।
आज गणपति लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ९.३५ प्रतिशतले घट्यो । लक्ष्मी लघुवित्तको सेयरमूल्य आज ४.६० प्रतिशत र नाडेप लघुवित्त ३.७७ र विजय लघुवित्तको सेयरमूल्य ३.४६ प्रतिशतले घट्यो ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                