काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४७ प्रतिशत अर्थात १२.५३ अंकले घटेर २ हजार ६४९.११ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले घटेर ४४६.३२ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०० वटा स्क्रिप्टको २ करोड ४० लाख ११ हजार १४ कित्ता सेयर १० अर्ब २० करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्, ‘पछिल्लो समय बजारलाई कारोबारले राम्रै साथ दिईरहेको छ । बजार यतिबेला सेक्टर परिवर्तन हुँदै चलिरहेको छ । जसले बजारलाई मजबुत बनाउदै लगेको छ ।’
उनले पूँजीगत खर्च बढ्ने क्रममा रहेको,तरलता अझै सहज हुने र लगानीमैत्री बजेट आउने सम्भावनाका कारण बजार केही दिनमै बढ्ने उनले अनुमान गरे । यस्तै अहिले बजारमा एक्युमुलेशन बढिरहेको समेत उनले बताए ।
अर्का बजार जानकार विरेन्द्र विष्टले पनि गभर्नर नियुक्तिमा भईरहेको ढिलाईको प्रभाव अझैपनि सेयर बजारमा देखापरिरहेको बताए । उनी पनि केही दिनभित्रै बजार सम्हालिनेमा ढुक्क देखिए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छायो भने ८ वटा समूहमा रातो पोतियो । होटल समूह आज सर्वाधिक अर्थात ६.५० प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज १.२७ प्रतिशत,जीवन बीमा ०.३१,निर्जीवन बीमा ०.०६ र व्यापार समूह ०.२० प्रतिशतले बढ्यो ।
फाइनान्स समूह आज सर्वाधिक अर्थात ३.७२ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.५१, हाईड्रोपावर १.२६,लगानी १.५५,उत्पादन तथा प्रशोधन ०.३९,लघुवित्त ०.०९,म्युचुअल फण्ड ०.२८ र अन्य समूह १.५८ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन राधी विद्युत कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६६ करोड १० लाख बढीको कारोबार भयो । ङादी ग्रुप पावरको पनि आज ६० करोड ६८ लाख, युनिभर्सल पावरको ५४ करोड ६७ लाख,सानिमा माई हाईड्रोको ५३ करोड ३३ लाख र बुटवल पावर कम्पनीको ३२ करोड ५७ लाख बढीको सेयर कारोबार भयो ।
आज ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ, हिमालयन पावर पार्टनर, जोशी हाईड्रो र ओम मेगाश्री फर्मास्ट्टिकल्सको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यस्तै सोल्टी होटलको सेयरमूल्य ८.३६ र सिक्लेस हाईड्रोको सेयरमूल्य ८.३४ प्रतिशतले बढ्यो ।
यो दिन सिन्धु विकास बैंकको सेयरमूल्य सर्वाधिक अर्थात ७.३० प्रतिशतले घट्यो ।