काठमाण्डौ । सोमबारको बिदापछि खुलको सेयर बजार आज ओरालो लागेको छ । तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घट्यो । आज नेप्से परिसूचक ०.५६ प्रतिशत अर्थात १४.८७ अंकले घटेर २ हजार ६३४.२३ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३१ प्रतिशतले घटेर ४४४.७२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको २ करोड १८ लाख २८ हजार २३१ कित्ता सेयर ९ अर्ब ६३ करोड ४८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्, ‘यतिबेला विभिन्न कारणले गर्दा सेयर बजारमा बिक्री दबाब परिरहेको छ । हकप्रद र संस्थापक सेयरको सप्लाई आउनु र देशका उद्योग व्यवसाय राम्ररी चल्न नसक्नु, राष्ट्र बैंकको गभर्नर नियुक्ति हुन नसक्नु र धितोपत्र बोर्डका अध्यक्षका बारेमा नकारात्मक खबर आउनु जस्ता विषयले लगानीकर्तामा उत्साह आउन सकेको छैन । यही कारण सेयर बजारले गति लिन सकेको छैन ।’
उनले लगानीकर्ता एउटा गूड न्यूजको प्रतिक्षामा रहेको र त्यसो भएमा बजारमा पुनः उछाल आउने उनले बताए ।
अर्का बजार जानकार दामोदर गजुरेलले पनि लगातार ३ दिन बजारमा बिक्री दबाब आउनु भनेको स्मार्ट इन्भेष्टर्सले बिक्री दबाब दिएको र साना–साना स्विङमा बजार चलेको बताए । ‘यद्यपी गभर्नर नियुक्ति तथा बजेटको आशाले कारोबारले भने बजारलाई साथ दिईरहेको र बजारको माथिको यात्राको सम्भावना पनि उत्तिकै रहेको देखिन्छ,’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज जीवन बीमा समूह १.०८, विकास बैंक ०.५५ र उत्पादन तथा प्रशोधन समूह ०.२६ प्रतिशतले घट्यो ।
यो दिन व्यापार समूह सर्वाधिक अर्थात २.२३ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.३२ प्रतिशत, फाइनान्स १.९४, होटल २.०२, हाईड्रो १.१२, लगानी ०.७२,लघुवित्त ०.६४ म्युचुअल फण्ड ०.१६, निर्जीवन बीमा ०.५७ र अन्य समूह ०.६३ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो युनिभर्सल पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६७ करोड २० लाख बढीको सेयर कारोबार भयो । यस्तै ङादी ग्रुप पावरको ५२ करोड ९० लाख, नेपाल माइक्रो इन्स्योरेन्सको ५१ करोड २५ लाख र सानिमा माई हाईड्रोको ४७ करोड १४ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । अपर सर्किट लाग्ने दुई कम्पनीहरुमा क्रेष्ट माइक्रो लाइफ र ओम मेगाश्री फर्मास्युटिकल्स रहे ।
जोशी हाईड्रोपावरका लगानीकर्ताले ६.७३ प्रतिशत, उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ५.८० र लुम्बिनी विकास बैंकका लगानीकर्ताले ४.२६ प्रतिशतले कमाए ।
गुराँस लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक गुमाए । यो कम्पनीका लगानीकर्ताले आज ७.९३ प्रतिशतले गुमाए । यस्तै नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमूल्य ६.३९ प्रतिशत, सिक्लेस हाईड्रोको ४.५९ र हिमालयन उर्जाको सेयरमूल्य ४.३८ प्रतिशतले घट्यो ।