काठमाण्डौ । धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई नेप्सेको पुनर्संरचना गर्दै आईपीओमा जान निर्देशन दिएको छ । धितोपत्र बोर्डस्थित उच्च स्रोतले दिएको जानकारी अनुसार अघिल्लो साता नेप्सेलाई धितोपत्र बोर्डले यस्तो पत्र पठाएको हो ।
यसै विषयमा बोल्दै नेप्सेका एक उच्च अधिकारीले पनि रामेश्वर खनाल आयोगको सुझाब अनुसार नेपाल स्टक एक्सचेञ्जको पुनर्संरचना गर्दै सर्वसाधारणमा प्राथमिक सेयर निष्कासन गर्न पत्र आएको पुष्टि गरे । ति अधिकारीले भने ‘धितोपत्र बोर्डबाट पत्र आएको छ । अहिले नेप्सेमा अध्यक्ष छैनन् । तत्कालिन अध्यक्ष शोभाकर पौडेल गण्डकी प्रदेशमा मुख्य सचिब बनेर गएपछि नेप्से अध्यक्ष बिहिन बनेको छ ।’ यस बिषयमा नेप्सेमा अहिले आन्तरिक छलफल पनि भईरहेको स्रोतले दाबी गर्यो ।
कति छ अहिले नेप्सको पूँजी ? कति आउँछ सर्वसाधारणलाई सेयर ?
हाल नेप्सेको पूँजी एक अर्ब रुपैयाँ मात्रै रहेको छ । यदि खनाल आयोग र यसअघि नेप्सेले तयार पारेर अर्थ मन्त्रालय पठाएको सुझाव अनुसार पुनर्संरचना हुने हो भने एक अर्बको पूँजी बढेर ३ अर्ब हुनेछ । जसमा कर्मचारी सहित ३० प्रतिशत अर्थात ९० करोडको सेयर सर्वसाधारणलाई जारी हुनेछ ।
प्रस्तावित पुनर्संरचनामा नेपाल सरकारको १९.५५ प्रतिशत , नेपाल राष्ट्र बैंकको ३.१७ प्रतिशत, कर्मचारी सञ्चय कोषको ३.३३ प्रतिशत, राष्ट्रिय बाणिज्य बैंकको ३.७४ प्रतिशत , प्रभु बैंकको १.६७ प्रतिशत , लक्ष्मी सनराइज बैंकको १.६७ प्रतिशत , कर्मचारीसहित सर्वसाधारणको ३० प्रतिशत, बैंक समूह १३.३३ प्रतिशत , बीमा समूह १३.३३ प्रतिशत , सरकारी स्वामित्व संस्थान १० प्रतिशत , अन्यको ०.२ प्रतिशत स्वामित्व रहने छ ।