काठमाण्डौ । पछिल्लो समय विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विकास बैंक समूहको सेयर कारोबार ३३६.२१ प्रतिशतले बृद्धि भएको छ ।
चालु आवको ११ महिनासम्ममा यो समूहको १ खर्ब ४८ अर्ब ३९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो कारोबार रकम गत आवको सोही अवधिसम्मको तुलनामा ३३६.२१ प्रतिशत बढी हो । गत आवको जेठ मसान्तसम्म विकास बैंक समूहको ३४ अर्ब २ करोड रुपैयाँको मात्रै सेयर कारोबार भएको थियो ।
पछिल्लो समय सेयरबजारमा लो क्याप तथा अल्ट्रा लो क्याप कम्पनीमा लगानीकर्ताहरु आकर्षित छन् । विकास बैंक समूहमा रहेका लो क्याप कम्पनीहरुमा ग्रीन डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंकमा लगानीकर्ताहरु आकर्षित हुँदा यी कम्पनीहरुको सेयर कारोबार उच्च बृद्धि भएको छ ।
नेप्सेको फ्लोरसिटअनुसार लो क्यापमा गनिने यी विकास बैंकहरुको सेयर कारोबार बढ्दा सिंगो विकास बैंक समूहको कारोबार बढ्न पुगेको हो ।
त्यस्तै, लगानी समूहको सेयर कारोबार पनि ३०१.१३ प्रतिशतले बढेको छ । गत आवको जेठ मसान्तसम्म यो समूहको ३७ अर्ब ३७ करोड रुपैयाँको सेयर कारोबार भएकोमो यस अवधिसम्म १ खर्ब ४९ अर्ब ९१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यो समूहमा कुल ७ वटा कम्पनी सूचीकृत छन् ।
सो अवधिसम्म सबैभन्दा धेरै हाइड्रोपावर समूहको सेयर कारोबार भएको छ । हाइड्रो समूहको कुल ७ खर्ब १३ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो कारोबार रकम गत आवको तुलनामा २९७.७० प्रतिशत बढी हो ।
गत आवको सोही अवधिसम्म यो समूहको १ खर्ब ७९ अर्ब ३३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको थियो ।
